महेन्द्रनगर, माघ २८ : तृतीय स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता बुधबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको छ ।
नेपाल हक्की संघको आयोजना र कञ्चनपुर जिल्ला हक्की संघको समन्वयमा शुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री शाहले खेलकूदले खेलाडीलाई अनुशासित बनाउनुका साथै खेल जगत्ले सिंगो देशको शिर उच्च राख्ने गरेको बताउनुभयो ।
खेलकूदले भाइचाराको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै मानिसलाई स्वस्थ्य राख्ने महत्वपूर्ण माध्यम पनि भएको उहाँले भनाइ छ । “एउटा सफल खेलाडीले देशलाई विश्वमा चिनाएका धेरै उदाहरण छन्”, मन्त्री शाहले भन्नुभयो, “खेलकूदको विकासमा राज्य पनि अग्रसर हुँदै गएको स्थिति छ ।”
त्यसैगरी गरी आजदेखि शुरु भएका लिक चरणका खेलमा नेपाली सेना र सुदूरपश्चिम प्रदेशको टिमले विजयी शुरुआत गरेका छन् । उद्घाटन खेलमा सेनाको टोलीले गण्डकी प्रदेशलाई दुई गोल गर्दै विजयी भएको कञ्चनपुरका हक्की प्रशिक्षक नरबहादुर चन्दले बताउनुभयो । सेनाका लागि सीमा खड्का र निलिमा पाण्डेयले एक÷एक गोल गरेका छन् । त्यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई प्रदेश नं २ लाई पराजित गरेको छ ।
सुदूरपश्चिमका लागि बिन्दु रावलले तीन गोल र लक्ष्मी बमले एक गोल गरेका थिए । प्रदेश नं २ ले भने गोल गर्न सकेन् । प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुने कञ्चनपुर जिल्ला हक्की संघका उपाध्यक्ष उमेश सुनुवारले जानकारी दिनुभयो ।