चितवन, माघ २८ : प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता– २०७७ आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा प्रदेश प्रमुख प्रसाईले कोभिडका कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताउनुभयो । खेलकूदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै उहाँले खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्थासमेत शुरु गरेको बताउनुभयो । प्रदेश प्रमुख प्रसाईले खेलकूदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनकोसमेत विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागिता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले बताउनुभयो । फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो वरियतामा रहेका खेलाडी प्रिन्स दाहाललगायतका राष्ट्रिय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत आज पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताउनुभयो ।
विभिन्न आठ विधामा हुने प्रतियोगितामा उमन सिंगल, गल्स सिंगल अण्डर १७ अन्तर्गतका खेल बिहीबार हुने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा मेन्स सिंगल र उमन्स सिंगलतर्फ पहिलो हुने खेलाडीले नगद रु एक लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा दोस्रो हुनेले रु ५५ हजार र तेस्रो हुने खेलाडीले रु १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसिहतको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ ।