मुलुकमा फेरि अर्की एक किशोरीमाथि अति जघन्य अपराध भएको छ । बुधबार विद्यालय गएकी बैतडीको दोगडाकेदार–७, चडेपानीकी सत्र वर्षीया किशोरी त्यसपछि घर फर्किन पाइनन् । र, अब कहिल्यै फर्कने छैनन्, क्रूर अपराधीहरूले उनको जीवन नै समाप्त पारिदिएका छन् ।
दोगडाकेदार–३ स्थित सनातन धर्म मावि, खोचलेकमा कक्षा १२ मा पढ्ने भागरथी भट्टको शव बिहीबार बीभत्स अवस्थामा भेटिएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले पनि घटनालाई शंकास्पद मान्दै अनुसन्धान थालेको छ । यो अमानुषिक अपराधको गहिरो छानबिन आवश्यक छ । त्यसका लागि, बैतडी प्रहरीले कुनै दबाब, प्रभावमा नपरीकन घटनाको सत्य–तथ्य पत्ता लगाएर दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ ।
बिहान १० बजे विद्यालय पुगेकी भागरथी २ बजे कक्षा सकिएपछि सँगै पढ्ने काका नाता पर्नेसित घरतर्फ गएकी थिइन् । विद्यालयबाट करिब ७ मिनेट दूरीमा रहेको खोचलेक बजारमा ती काका कपाल काट्न रोकिएपछि उनी हतार भएको भन्दै घरतिर लागेकी थिइन् । बजारबाट उनको घर पुग्न करिब १ घण्टा पैदल हिँड्नुपर्ने रहेछ । बाटोमा केही घरहरू रहेछन् र बीचमा सल्लेरी वन पनि । त्यही लवलेक जंगलमा घर पुग्न २० मिनेट बाँकी छँदा ग्रामीण सडकभन्दा सय मिटर तल वनमारा झाडीमा उनको शव अर्धनग्न अवस्थामा भेटिएको हो । उनको शरीरमा दाँतले टोकेका घाउ र अन्य चोट छन् । नजिकै मोबाइल फोन भेटिएको छ । कपडाहरू च्यातिएका छन् । घाँटीमा निमोठेका दागहरू छन् । खुट्टाका औंलाहरूमा पनि घिसारेको चोट छ । योनिबाट रगत बगेको देखिएको छ ।
अंग्रेजीमा एउटा उक्ति छ— विपत्ति कहिल्यै एक्लै आउँदैन । भागरथीको परिवारले पनि यस्तै वियोगको शृंखला नै भोग्नुपरेको छ । दुई महिनाअघि मात्रै उनले मधुमेहका कारण ५२ वर्षीय बाबु गुमाएकी थिइन् । घरको आर्थिक अवस्था नाजुक रहेकाले परिवारको जिम्मेवारी उनकै काँधमा थियो । पति वियोगमा रहेकी आमाको हेरचाह, घरायसी काम र पढाइलाई उनले सँगसँगै अघि बढाइरहेकी थिइन् ।
यसैबीच, उनी आफैं पनि मारिएकी छन् । परिवारले एउटा अकल्पनीय त्रासदी बेहोर्नुपरेको छ । उल्लिखित अंग्रेजी उक्तिले जे भने पनि, वास्तवमा यो घटना वियोगहरूको दुर्योग होइन, हाम्रो समाजमा विद्यमान आपराधिक घटनाक्रमको अर्को निरन्तरता हो । बलात्कार र हत्याजस्ता प्रत्येक अपराधका सम्पूर्ण अपराधीहरूलाई राज्यले कानुनी कठघरामा उभ्याउन नसक्नुको एउटा परिणति हो । र, नेपाली समाजमा छोरीहरू अझै सुरक्षित छैनन् भन्ने थप अर्को दृष्टान्त हो । अनि हो— छोरी, दिदी–बहिनी र आमा–हजुरआमाहरूलाई निर्धक्क सम्मानित जीवन बाँच्न पाउने हक प्रदान गर्न राज्यसामु विशाल चुनौती रहेको अर्को प्रमाण पनि ।
भागरथीको शव भेटिएपछि दोषीलाई पक्राउको माग गर्दै विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका छन् । अत्यन्त जघन्य यो घटनाका पीडितलाई न्याय दिलाउनु यतिबेला बैतडी प्रहरी प्रशासनको जिम्मेवारी हो । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे अझै सत्यतथ्य पत्ता लगाउन नसकेको घटनाबाट पाठ सिक्दै प्रहरीले यसको अनुसन्धानमा कुनै कसर बाँकी छाड्नु हुँदैन । मृत्यु शंकास्पद भएकैले काठमाडौंबाट विशेष प्राविधिक टोली र प्रदेशबाट पनि एसएसपी नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल खटिएको भनिएको छ । संघ र प्रदेशबाट खटिएका टोलीहरूले पक्कै पनि यसको सत्य–तथ्य पत्ता लगाउन सघाउने नै छन्, सघाउनुपर्छ पनि । फेरि पनि यसको अनुसन्धान गरी दोषीउपर मुद्दा चलाउने दायित्व भनेको स्थानीय प्रहरीकै हो । तसर्थ, बैतडी प्रहरीसामु यो घटनामा न्याय दिलाउनुपर्ने ठूलो अभिभारा छ, जुन उसले जसरी पनि अविलम्ब पूरा गर्नुपर्छ । प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालय र अदालत पनि यसमा गम्भीर बन्नुपर्छ ।
पूरै देश अहिले गम्भीर राजनीतिक र संवैधानिक संकटको भुमरीमा रुमल्लिएको छ । राजनीतिक दल तथा पक्षहरूको शक्ति टकरावमा कति राष्ट्रिय तथा सामाजिक मुद्दाहरू त्यसै ओझेलमा परेका छन् । राज्यका सम्बन्धित निकायलगायत समाजका सरोकारवाला पक्ष यहाँ सजग हुनुपर्छ, राष्ट्रिय राजनीतिको चर्को ध्वनिबीच यो घटना र यस्ता मुद्दा त्यसै बिलाएर जानु हुँदैन । यी प्रत्यक घटनाबारे उचित अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइएन भने समाजमा यस्ता अपराध रोकिने छैनन्, बरु अझ बढ्नेछन् । अहिले नै दैनिक औसत छ–सात महिला/बालिका बलात्कृत हुने गरेका छन् । र, दुई जनामाथि बलात्कार प्रयास हुने गरेको छ । प्रहरीकहाँ आइपुग्ने उजुरी पो यति, बलात्कारलाई त्यसै छोपछाप गर्ने हाम्रो समाजमा पीडितले आँसु पिएरै चुपचाप लुकाइरहेका घटना अझै कति होलान् ।
अवस्था कस्तो छ भने, मुलुकमा कतिपय पञ्चायती मात्रै पीडक जोगाउन लाग्दैनन्, कति नीति निर्माता पनि समस्याको वास्तविक समाधान खोज्नेभन्दा ‘बलात्कारीलाई फाँसी’ जस्ता ‘लोकप्रिय’ देखिने नाराका पछाडि कुदेका छन् । स्वयं गृहमन्त्री पनि गैरजिम्मेवार भएर भनिदिन्छन्, ‘झन्डै सवा दुई सय देशको अवस्था विश्लेषण गर्दा (बलात्कारका घटनाप्रति) हामी धेरै चिन्तित हुने स्थिति पनि होइन ।’ जबकि, एउटै घटना पनि कसरी नगराउने भन्नेतर्फ राज्यको सम्पूर्ण ध्यान रहनुपर्छ । हरेक घटनामा सम्पूर्ण समाज र राष्ट्र जवाफदेही बन्नुपर्छ ।
यस्ता घटनामा कमी आउन नदिन कानुनको उचित कार्यान्वयन गर्न राज्य प्रशासन चुक्न हुँदैन । सरकारले दुई महिनाअघि केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत बलात्कारसम्बन्धी सजायमा थप कडाइ गरे पनि प्रतिनिधिसभा विघटन गरिएकाले त्यसको दिगोपनमा समस्या छ, यसतर्फ पनि ध्यान दिइनुपर्छ । राज्यका निकायहरूले दृढताका साथ अपराधी र उसलाई जोगाउन खोज्ने सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । बलात्कार र हत्याजस्ता जघन्य अपराधमा राज्य गम्भीर छ भन्ने प्रमाण यसै बैतडीलगायतका घटनाबाट देखिन थाल्नुपर्ने इकान्तिपुर अनलाइनको सम्पादकीयमा उल्लेख छ ।