बीमालाई थप परिस्कृत र मर्यादित बनाइन्छ : अध्यक्ष सिलवाल

  माघ २३, २०७७

काठमाडौं, माघ २३ : बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा विस्तारित हुँदै गएको बीमा व्यवसायलाई थप परिस्कृत, मर्यादित र आम नागरिकका बीचमा पु-याउने प्रतिवद्धता व्यक्त भएको छ ।

उहाँले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले दिलोज्यान दिएर लागिपर्ने बताउनुभयो । समितिको कार्यालयमा आज पदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निर्मूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गर्नुभयो ।

समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उहाँले कानून, नियम र विधिको परिधिमा रहेर आफनो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । यस क्षेत्रमा धेरै समस्या रहेको भन्दै सो समस्या समाधान गर्नका लागि काम गर्ने र नियमकले दिने निर्देशन पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

बीमाको विस्तारका लागि के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन अनुरोध गर्दै अध्यक्ष सिलवालले पहुँच विस्तार तथा कार्यक्रममा विविधता ल्याउन आग्रह गर्नुभयो । आगामी दिनमा सबैले व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले पैसा भएकालाई भन्दा पनि झुपडीमा बस्ने गरिबले बीमा गर्न सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बीमा अभिकर्ता सङ्घका अध्यक्ष नन्दप्रसाद तिवारीले आम बीमितको हितमा बीमा समिति खरोरूपमा उत्रनुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति रोक्नसमेत आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया