निजी र साझेदारी फर्म दर्ता फागुन १ गतेदेखि जिल्लाबाट

  माघ २१, २०७७

काठमाडौँ, माघ २१ : वाग्मती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले वाग्मती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयअन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने जनाएको छ ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट निकासी पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य हुने विभागका प्रवक्ता शिवराज सेढार्इंले जानकारी दिनुभयो । पहिलो चरणमा वाग्मती प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरेको विभागले निकासी, पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात् क्रमशः हस्तान्तरण गर्ने जनाएको छ ।

गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट ‘वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना, २०७७’ को स्वीकृत भएको थियो । उक्त स्वीकृतिपछि वाग्मती प्रदेश सरकारलाई विभिन्न कार्ययोजना हस्तान्तरणको गरिएको उहाँले जानकारी दिनुभयो ।

पुराना फर्मको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाट नै सञ्चालन हुनेछ । वाग्मती प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापारमूलक (निकासी, पैठारीसँगसम्बन्धी) फर्मको सक्कल फाइलसहित २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुनेछ ।

विभाग र फोन पेबीच सहकार्य
अनलाइनमार्फत सेवा प्रवाह गर्न विभागले भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेसँग व्यावसायिक सहकार्य सम्झौता भएको छ । अनलाइनका माध्यमबाट व्यवसाय फर्म दर्तालगायत व्यवसाय नियमनसम्बन्धी सेवाको सहजीकरणका लागि दुई पक्षबीच आज सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात् फोन पेले डिजिटल भुक्तानी प्रक्रियाको प्रवद्र्धन गर्न व्यवसायीलाई निःशुल्क क्युआर कोड सुविधा उपलब्ध गराउने छ भने असार मसान्तसम्म एक लाख व्यवसायीलाई सेवा प्रवाह गर्न अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया