काठमाडौं, माघ १० : चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।
लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन ।
बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिनुभयो । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई–दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक–एक विकेट लिनुभयो ।
विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्दै लुम्बिनीका लागि सौरभ खनालले अविजित १८, प्रकाश केसीले १७ तथा कृष्ण कार्कीले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिनुभयो ।
समूह ‘बी’ मा रहेको लुम्बिनी तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो ।
यस्तै सुदूरपश्चिम हालसम्म खेलेका तीन खेलमै पराजित भई अङ्कविहीन अवस्थामा छ । सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ ।