कास्की, माघ ९ : विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण शुरु गरेको छ ।
राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा समावेश ३५ खेलाडीले पोखरा रंगशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानमा साँझ ३ बजेदेखि दुई घण्टा अभ्यास गरेका हुन् । टोलीलाई राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन तथा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउनुभएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्ने जानकारी दिनुभयो । पोखरामा टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।
“काठमाडौैंमा डेढ महिना बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई स्वच्छ वातावरणमा रिफ्रेसमेन्टसहितको ट्रेनिङका लागि पोखरा आएका छौँ । यहाँको प्रशिक्षणले खेलाडीहरूमा हौसला मिल्ने विश्वास छ ।” संयोजक उपाध्यायले भन्नुभयो ।
बिहीबार साँझ पोखरा आएको टोलीमा ३५ खेलाडी र नौ जना अफिसियल छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एशियन कपको छनोट चरणका अब तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ ।
तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्नेछ । नेपालले कुवेतसँगको ‘होम म्याच’ भुटानमा खेलेको थियो । छनोट चरणमा नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । नेपाल छनोट चरणमा तीन अंकसहित समूहको चौथो स्थानमा रहेको छ ।