काठमाडौं, माघ ५ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वाग्मती प्रदेश विजयी भएको छ । वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई १८१ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ रोजेपछि वाग्मतीले पहिला ब्याटिङ गरेको थियो । वाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो ।
तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । वाग्मतीका लागि पृथु बाँस्कोटा र आदिल खानले अर्धशतकीय पारी खेल्नुभयो । बाँस्कोटाले ९४ बलमा ८४ रनको योगदान दिनुभयो । यसक्रममा उहाँले दुई छक्का र १० चौका प्रहार गर्नुभयो ।
यस्तै खानले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले ३२, विपीन आचार्यले ३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ तथा रामनरेश गिरीले अविजित १० रन बनाउनुभयो ।
बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई तथा विनोेद लामाले एक विकेट लिनुभयो । तीन सय रनको विजय लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा ११९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमले ६ ओभर खेल्दा पाँच विकेट गुमाएको थियो । त्यो बेला उसको स्कोर१८ मात्र थियो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन बनाउनुभयो । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिनुभयो । उहाँले पाँच ओभर बलिङ गर्दै ३२ रन मात्र खर्चिनुभयो । यस्तै नन्दन यादवले दुई तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले एक एक विकेट लिनुभयो ।