आगामी चैतदैखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदै

  माघ ०४, २०७७

काठमाडौं, माघ ४ : आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो ।

हालसम्म करीब ९८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत महिनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी रहेको छ । गत असोज महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महिनादेखि मात्र हुन लागेको आयोजनाले जनाएको छ ।

‘आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको थियो’, वस्तीले भन्नुभयो, “केही काम प्राविधिकले गर्नु पर्ने थियो, प्राविधिकहरु भारतबाट ल्याउनुपर्ने र दुई-चार दिनपछि फेरि अर्को प्राविधिक ल्याएर काम गर्नुपर्ने त्यहीमाथि १५ दिन क्वारेन्टिनमा राख्नुपर्ने स्थितिले गर्दा असोजमा आयोजनाको निर्माण सकिएन । अब भने निर्माण कार्यमा सहज भएको र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन हुनेछ ।’

आयोजना २०७१ देखि निर्माण थालनी हुँदै आएको छ । २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो ।

सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि गत असोजसम्म म्याद थप गरिएकामा अझै निर्माण सम्पन्न नभएपछि आगामी चैत महिनासम्म जसरी पनि आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताउनुभयो । आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड गत असोज महिनासम्ममा खर्च हुने अनुमान गरिएकामा अझै समय थप हुँदा निर्माण कार्य सम्पन्न हुँदा अझै बढी रकम लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँध स्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत् गृहमा झारिने आयोजना प्रवद्र्धक वस्तीले बताउनुभयो ।

उहाँका अनुसार यस आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता ९पिपिए० भैसकेको छ ।

जिल्लामा सो आयोजनासहित दोर्दी करिडोरमा मात्र २३ अर्बभन्दा बढी लागतमा पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् । त्यस्तै जिल्लाभरि एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने तयारीमा रहेका छन् ।

जिल्लामा यसअघि बेँसीशहर नगरपालिका–१ दलालमा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, पाँच मेगावाटको सिउरी, ४/४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दीलगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया