काठमाडौं, माघ ३ : ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ ।
सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक तौल समूहका विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही रु चार हजार पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई नगरप्रमुख बस्नेतले एक थान स्कुटर प्रदान गर्ने घोषणा गर्नुभएको छ । उत्कृष्ट पुरुष खेलाडीलाई भने आयोजकले एक थान मोटरसाइल प्रदान गर्नेछ ।