इंग्ल्यान्ड आठ रनले मात्र पछाडि

  माघ ०१, २०७७

गाले, माघ १ : इंग्ल्यान्ड श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार बलियो स्थितिमा पुगेको छ । आफ्नो पहिलो इनिङ्स सुरु गर्दै इंग्ल्यान्डले दिनको खेल समाप्त हुँदा दुई विकेटमा १ सय २७ रन बनाएको छ । इंग्ल्यान्ड आठ रनले मात्र पछाडि रहेको छ ।

उसका लागि कप्तान जोए रुट ६६ र जोनी बेयरस्टो ४७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले नटआउट १ सय १० रनको साझेदारी गरिसकेका छन् । यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको श्रीलंका आफ्नो पहिलो इनिङ्समा १ सय ३५ रन मात्र बनाएर अलआउट भएको थियो । त्यसमा कप्तान दिनेश चन्डिमलले बनाएको २८ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

इंग्लिस बलरमध्ये डम बेस सर्वाधिक सफल रहे र उनले ३० रन दिएर पाँच विकेट लिए । यस्तै स्टुवार्ट ब्रडले तीन विकेट हात पारे । अब इंग्ल्यान्डले दोस्रो दिन पहिलो इनिङ्समा अग्रता लिएर त्यसलाई फराकिलो बनाउने प्रयास गर्नेछ ।

तपाईको प्रतिक्रिया