काठमाडौं, पुस २५ : सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत् प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । सिइएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।
प्राधिकरणले टनकपुरबाट खरीद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक सात करोड युनिट विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरीद गर्दै आएको छ । “टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौँ, भारतीय अधिकारीसँगको निरन्तरको छलफलपछि जनवरी–मार्च र जुलाई–डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं”, शाक्यले भन्नुभयो । “प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत् पठाउन सकिरहेका थिएनौँ, टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने छ भने विहारबाट महँगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिनेछ”, उहाँले भन्नुभयो ।
प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौँ उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताउनुभयो । यसबाट मुलुककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उहाँले उल्लेख गर्नुभयो । केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुनेछ ।
प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड(एनभिभीएन)बीच ढल्केबर–मुजफ्पुर अन्तरदेशीय प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । खरीद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेपाली रुपैयाँ) छ ।
विद्युत आपूर्ति सुधार गर्न निर्देशन
प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन, विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । शाक्यले बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गर्नु भएको थियो ।
भैरहवा क्षेत्रका उद्योगीले विद्युत्को गुणस्तरीयता र पर्याप्त विद्युत् आपूर्ति नपाएको गुनासो बारम्बार गरिरहेको उल्लेख गर्दै उहाँले पर्याप्त र भरपर्दो विद्युत आपूर्ति हुनेगरी नयाँ संरचना बनाउन, भइरहेको संरचनाको नियमित मर्मतसम्भार गर्न र चालू योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो ।