सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

  पुष २३, २०७७

काठमाडौं, पुस २३ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित हुन पुग्यो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो ।

एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउनसक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाउनुभयो । बलिङतर्फ सिड्नी थन्डरका तनवीर सङ्घा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले दुई दुई विकेट लिनुभयो ।

यसअघि सिड्नीका लागि ब्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिनुभयो । लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आउनुभएको थियो । उहाँले आफ्नो पहिलो ओभरमा ६ रन खर्चिनुभयो । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनको विकेट लिनुभयो । सो ओभरमा उहाँले चार रन मात्र दिनुभयो ।

लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिनुभयो । हाल जारी बिग बास लिगमा लामिछानेको यो तेस्रो खेल हो । उहाँले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिनुभएको थियो । लामिछाने आवद्ध होबार्ट हालसम्म ९ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया