भारतीय कम्पनीको ढिलासुस्तिले अल्झियो तामाकोशी आयोजना

  पुष २२, २०७७

चरिकोट, दोलखा, पुस २२ : दोलखाको बिगु गाउँपालिका–१, लामा बगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम एक्सपान्सन ज्वाइन्टमा पुगेर रोकिएको छ ।

आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको एक सय मिटर तर्सो भागमा जडान हुँने एक्सपान्सन ज्वाइन्टका लागि  पाइप बन्न नसक्दा आयोजनाको काम रोकिएको हो ।

दुवै भर्टीकल स्याफ्टमा पेनस्टक पाइप राख्ने काम केहि महिना अघि सम्मपन्न भएपनि एक्सपान्सन ज्वाइन्टको पाईप बन्न नसक्दा आयोजना पछि धकेलिएको छ।  लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे ईन्जिनियरिङले डिजाइन अनुसारको एक्सपान्सन जोइन्ट पाईप बनाएर पठाउन नसक्दा काम रोकिएको माथिल्लो तामाकोसी आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।

“पेनस्ट पाइप जडान सकिएसंगै जडान गर्नुपर्ने एक्सपान्सन ज्वाइन्टको पाईप हालसम्म बनाएर ल्याउन सकेका छैनन् ।” उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले हालको डिजाइन अनुसारको एक्सपान्सन जोइन्ट पाईप बनाउन निकेपछि परामर्शदाता कम्पनीसंग समन्वय गरि डिजाइन संशोधन गर्न थालेका छौँ ।”

काेराेना  सुरु भएर चैतदेखि  विदेशमै रहेका जेभी नोरकन्सल्टका प्रतिनिधिहरुसंग डिजाइन संशोधनका सम्पुर्ण काम अनलाइनबाट भइरहेको उल्लेख गर्दै उहाँले अब नयाँ डिजाइनको एक्सप्यान्सन जोइन्ट पाईप बनाएर काम सुरु गरिने बताउनुभयो । हाल लट –२ अन्तर्गतकै आयोजनाको भैंसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्टक स्याफ्टको बेन्ड राख्ने कार्य र तल्लो तेर्सो पेनस्टको कामहरू बाकी रहेको र उक्त कार्यक्षेत्रमा कामहरू भइरहेको छ ।

ठेकेदार कम्पनी टेक्स म्याकोले पेनस्टक पाइप, गेटहरु लगाएतका हाइड्रोमेकानिकल उपकरणहरुको उत्पादन, ढुवानी र जडान कार्यहरु अत्यन्तै ढिलाइ गर्दै आएकोले समग्र आयोजनाको निर्माण कार्य ढिलाइ हुन पुगेको छ । आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्यहरुको निर्माण सम्पन्न भइसकेको छ।

भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सर्फमर लगाएतका सबै उपकरणहरुको जडान कार्य सम्पन्न भइसके छ । गोंगरदेखि रामेछापको देवीटारसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ भने देवीटारमा निर्माणाधीन २२०-१३२ केभी क्षमताको सवस्टेशनमा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

डिजाइन मोडिफिकेसन गरेपछि एक्सपान्सन जोइन्ट पाईप जडान सहित हाल भइरहेको सम्पुर्ण काम माघ भरिमा सम्पन्न गरिसक्ने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो । फागुनदेखि सुरङमा पानी पठाउने उल्लेख गर्दै उहाँले चैत मसान्तसम्म आयोजनाको ६ मध्ये एक युनिट सञ्चालन गरि ७६ मेघावाट बिद्युत उत्पादन थाल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया