भारत र अष्ट्रेलिया टेष्ट श्रृखंलाका सबै खेलाडी र कर्मचारीको कोरोना रिपोर्ट निगेटिभ

  पुष २०, २०७७

काठमाडौं, पुस २० : भारत र अष्ट्रेलियाबीचको टेष्ट श्रृखंलामा सहभागी सबै खेलाडी र खेल कर्मचारी तथा अधिकारीमा कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ । आइतबार सबै सदस्यको कोरोना परीक्षण गरिएको सोमबार स्वास्थ्य प्रतिवेदन आएको हो ।

दुबै टोलि तेस्रो टेष्ट खेल्न सोमबार मेलबर्नबाट सिड्नी प्रस्थान गर्दैछ । क्रिकेट ग्राउन्डका सबै टिकेट बिक्रि भइसकेको अवस्थामा सिड्नीमा कोरोना सङ्क्रमणको प्रकोप देखा परेपछि तेस्रो टेष्ट खेलमा क्षमताको २५ प्रतिशत दर्शक मात्रै उपस्थित हुन पाउनेछन् ।

पहिलो जनवरीका दिन पाँच जना भारतीय खेलाडीहरु मेलबर्नमा एकजना साथीसँग रात्रीभोजन गरिरहेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएसँगै सबै खेलाडी तथा सदस्यको कोरोना परीक्षण गरिएको छ । पाँचैजना खेलाडी हाल सेल्फ आइसोलेशनमा छन् ।

उपकप्तान रोहित शर्मा, शुभमन गिल, नवदीप सैन, पृथ्वी शा तथा ऋषभ पन्त उक्त भोजमा रहेको भिडियोमा देखिएको छ । उक्त घटनाबारे छानबीन भइरहेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।दोस्रो टेष्ट खेल जनवरी सातदेखि सिड्नीमा हुनेछ । तेस्रो टेष्ट खेल ब्रिसबेनमा जनवरी १५ का लागि निर्धारण गरिएको छ । दुई टेष्ट खेलपछि श्रृखंला १–१ को बराबरीमा रहेको छ ।

अष्ट्रेलियामा प्रत्येक राज्यले कोभिड विरुद्ध आ आफ्नै सतर्कता मापदण्ड अपनाएको छ । एक राज्यबाट अर्को राज्यमा जाँदा कोभिड मापदण्ड पालना गर्नुपर्ने हुँदा क्रिकेट अष्ट्रेलिया मापदण्ड ब्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

तपाईको प्रतिक्रिया