क्राइस्टचर्च, पुस २० : पाकिस्तानविरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ ।
पाकिस्तान विरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन् । क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्यूजील्यान्डले त्यसपछि कुनै विकेट गुमाएन । क्रिजमा विलियम्सन ११२ र निकोल्स ८९ रन बनाएर खेलिरहेका छन् । भाग्यशाली रहेका विलियम्सनले तीन पटक जीवनदान पाएका थिए ।
न्यूजील्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए । पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो । न्यूजील्यान्ड अझै ११ रनले पछि छ, तर उसका सात विकेट अझै बाँकी छन् । पहिलो टेस्टमा न्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो ।