काठमाडौँ, पुस २० : अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।
टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाउनुभयो । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिनुभयो । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिनुभयो । उहाँले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिनुभयो ।
लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिनुभयो । दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल हुनुभयो । उहाँले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिनुभएको हो । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिनुभएको थियो । यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिनुभयो । यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिनुभएको थियो ।