काठमाडौँ, पुस २० : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग गरेको छलफल गर्दै उद्योगीलाई मङ्गलबारभित्र कारण पेस गर्न निर्देशन दिएको हो ।
साथै छलफलका क्रममा उद्योगीले तेल सनफ्लावर र सोयाबिनको तेल कच्चा पदार्थका कारण महँगो भए पनि तोरीको भाउ नबढेको दाबी गरेको पनि विभागले जनाएको छ । यता व्यापारीले भने सनफ्लावर र सोयाबिनको तेलसँगै तोरीको तेलको भाउ पनि बढेको बताउँदै आएका छन् । गोरखापत्रले तेलको भाउ बढाउन अझै चलखेल भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि विभागले वास्तविकता बुझ्न उद्योगीसँग छलफल गरेको हो ।
विभागका अनुसार छलफलमा तेल उत्पादनका मुख्य उद्योग शिवशक्ति, दुगड, गणपति, केडियाका प्रतिनिधिको सहभागिता थियो । विभागका बजार अनुगमन निर्देशक सागर मिश्रले तेलको भाउ बढ्नुको कारणसहित मङ्गलबार कागजात पेस गर्न निर्देशन दिएको र चित्तबुझ्दो जवाफ नआएकाले कानुनअनुसार अगाडि बढ्ने बताउनुभयो । छलफलमा सोयाबिनको तेल भारतमा निर्यात गरेको उद्योगीले पनि स्वीकार गरेकाले आन्तरिक बजारलाई नपुगेसम्म बाहिर निर्यात नगर्न आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई/तीन महिनाको बीचमा खानेतेल विशेष गरी सोयाबिन र सनफ्लावरमा प्रतिकार्टोन तीन सय रुपियाँसम्म महँगो भएको छ । अझै पछिल्लो एक महिनायता सोयाबिन तेल अझै बढेको छ । विभागका निर्देशक मिश्रले उद्योगीले तोरीको तेलको भाउ नबढेको भनेकाले अब बजार अनुगमन गरिने र बिनाकारण बढाएको पाइयो भने त्यस्ता व्यापारीलाई नछोड्ने बताउनुभयो ।