पेट्रोलियम पदार्थ ल्याउन रक्सौलको विकल्प बरौनी र मोतीहारी

  पुष १९, २०७७

काठमाडौं, पुस १९ : मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिसेम्बरमा मात्रै १० करोड लिटर डिजेल आयात भएको छ । पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ७७ करोड ८० लाख ९३ हजार लिटर (७ लाख ७८ हजार ९३ किलोलिटर) आयात भएको पाइपलाइन परियोजनाका प्रोजेक्ट म्यानेजर भरत रेग्मीले जानकारी दिए । यसमध्ये डिसेम्बरमा मात्रै १० करोड लिटर आएको उनको भनाइ छ ।

‘डिसेम्बरमा पाइपलाइनबाट औसत प्रतिघण्टा २ सय ४० किलोलिटरका दरले डिजेल प्रवाह भयो । यसअनुसार एक महिनामै पहिलो पटक १० हजार लिटर (१ लाख किलोलिटर) आयात भएको छ,’ निगमको प्रदेश २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जका प्रमुख समेत रहेका रेग्मीले भने । यसअघि पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर आयात गर्न गाह्रो थियो । अहिले २ सय ४० किलोलिटरसम्म आयात भएको निगमको दाबी छ । पेट्रोलियम पाइपलाइनबाट २०७६ भदौ २४ देखि औपचारिक रूपमा डिजेल आयात सुरु भएको हो ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि मासिक औसतमा ७० हजारदेखि ७५ हजार किलोलिटर आयात भइरहेको डिजेल डिसेम्बरमा १ लाख किलोलिटर पुगेको उनको भनाइ छ । ‘भारतीय आयल कर्पोरेसनले नोभेम्बरदेखि नै आपूर्ति बढाउने भनेको थियो । तर लकडाउनलगायत विभिन्न कारणले ढिलाइ भयो,’ उपाध्यायले भने, ‘डिसेम्बरमा पाइपलाइनबाट अत्यधिक डिजेल आयात भयो ।’

अमलेखगन्जमा निगमको २० हजार किलोलिटर क्षमताको ट्यांक छ । पाइपलाइनबाट आयातित डिजेल त्यहीँ भण्डारण गरिन्छ । त्यहाँबाट काठमाडौं, भैरहवा, विराटनगर, जनकपुरलगायत क्षेत्रमा पठाइन्छ । ‘अमलेखगन्जमा मौज्दात क्षमता कम भए पनि स्थानीय खपतका अतिरिक्त अन्य डिपोमा पनि पठाउने गरेका छौं,’ उपाध्यायले भने ।

पाइपलाइनबाट डिजेल आयात सुरु भएसँगै चुहावट नियन्त्रणमा सहयोग पुगेको निगमले जनाएको छ । ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति, भन्सार नाकामा हुने सवारी जाम र हडतालको मारबाट पनि मुक्त भएको निगमको दाबी छ । निगमका अनुसार पाइपलाइनबाट डिजेल आयात सुरु भएपछि एक वर्षमै १ अर्ब ७६ करोड रुपैयाँ बचत भएको छ । मासिक औसतमा १४ करोड ७० लाख रुपैयाँ बचत हुन्छ । सुरक्षाका दृष्टिले उच्च जोखिम रहेको भारतीय आयल कर्पोरेसनको रक्सौल डिपो जनवरी १५ बाट बन्द हुने भएको छ ।

आईओसीले जनवरी १५ बाट रक्सौल डिपोबाट इन्धनको अर्डर नलिने जनाइसकेको निगमको प्रदेश २ कार्यालय बारा अमलेखगन्जका प्रमुख रेग्मीले बताए । त्यसपछि बरौनी र मोतीहारीबाट ढुवानी गरिने उनले जानकारी दिए । वीरगन्ज क्षेत्रका लागि रक्सौल डिपोबाट पेट्रोल र डिजेल आयात गरिँदै आएको थियो । रक्सौलबाट आयातित इन्धन पोखरा पनि जान्छ । रक्सौलमा पेट्रोलका दुई वटा ट्यांक छन् । हाल रक्सौलबाट दैनिक ५ लाख लिटर पेट्रोल आयात हुन्छ । एउटा ट्यांक मर्मतमा जानेबित्तिकै आईओसीले दैनिक १ लाख लिटर मात्रै दिने गरेको थियो । अब भने बन्द नै गर्न लागेको हो ।

भारतीय सरकारी निकायले रक्सौल डिपो तीन वर्षअघि नै बन्द गर्न भनेको रेग्मीले बताए । ‘ठूलो बस्ती र सुरक्षाका हिसाबले उच्च जोखिम भएकै कारण बन्द गर्ने भनिएको थिए । तर निगमको आग्रहमा बन्द भएन । अब बन्द गर्नुको विकल्प रहेन,’ उनले भने, ‘रक्सौल डिपो बन्द भए पनि आपूर्तिमा समस्या हुन्न, बरौनीबाट ल्याउँछौं, मोतीहारीबाट पनि आयात हुन्छ ।’ रक्सौलको तुलनामा बरौनीबाट आयात गर्दा सस्तो पर्छ । तर साढे दुई सय किलोमिटर टाढा पर्छ ।

निगमका अनुसार आईओसीले मोतीहारीमा डिपो बनाउँदै छ । उक्त डिपो सात–आठ महिनामा बनिसक्छ । मोतीहारी करिब ७० किलोमिटर टाढा पर्छ । यस अवधिमा अमलेखगन्जमा पनि ८ हजार २ सय किलोलिटरको पेट्रोलको भण्डार ट्यांक निर्माण सुरु हुने बताइएको छ । अमलेखगन्जमा ४२/४२ लाख लिटरका थप दुई पेट्रोल ट्यांक, ३०/३० लाख लिटरका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशालालगायतका काम पनि अघि बढाइने निगमले जनाएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया