मुस्ताङका होटल खुले, मुक्तिनाथ मन्दिर खोल्ने तयारी

  पुष १६, २०७७

बेनी, पुस १६ : कोरोना भाइरसको जोखिम बढेपछि बन्द भएको हिमालपारीको जिल्ला मुस्ताङका होटल व्यवसायहरु बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । होटल व्यवसायी संघकै पहलमा मुक्तिनाथ मन्दिर तथा कागबेनीमा पनि सर्वसाधारणका लागि पूजाआजा खुला गर्नका लागि पहल शुरु भएको छ ।

बाहिरी जिल्लाबाट प्रवेश गर्नका लागि पनि स्थानीयको अनुमति बिना रोक लगाइएको अवस्थामा मुस्ताङमा अब भने सबैका लागि स्वास्थ्य मापदण्ड अपनाएर खुला गरिएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले गतवर्षको चैतदेखि बन्द रहेका मुस्ताङका होटलहरु बिहीबारदेखि खुल्ने निर्णय गरिएको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।

पर्यटकको लागि आकर्षक धार्मिक स्थल कागबेनी तथा मुक्तिनाथ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बस्नका लागि रोक लगाइएको मुस्ताङमा अब होटल तथा रेष्टुरेन्टहरु खुला गरिएको अध्यक्ष तुलाचनले बताउनुभयो । कोरोना भाइरसको जोखिम बढेपछि गत चैतदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न रोक लगाइएको मुस्ताङमा होटल सञ्चालन गर्ने सन्दर्भमा बुधबार व्यवसायीहरुको बैठकले निर्णय गरेको अध्यक्ष तुलाचनले बताउनुभयो ।

मुस्ताङ र कास्कीको घान्द्रुकका होटलहरु नखुल्दा म्याग्दीमा होटल तथा रेष्टुरेन्ट खुला गरेर बसेका व्यवसायीहरु मर्कामा परेका थिए । त्यस्तै कास्कीको घान्द्रुक क्षेत्रका र मुस्ताङका होटल बन्द हुँदा धवलागिरिभित्रका म्याग्दी, बागलुङ र पर्वतका ब्यवसाय समेत संकटमा परेपछि होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत ज्ञापनपत्र समेत बुझाएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बताउनुभयो ।

होटल व्यवसायी संघ मुस्ताङको बुधबारको बैठकले राज्यले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर होटल व्यवसाय सञ्चालन गर्ने, मुक्तिनाथ तथा कागबेनीमा पूजाआजाको लागि आग्रह गर्ने तथा अन्य जिल्ला एवम् आन्तरिक र बाह्य पर्यटकलाई मुस्ताङ आउन आग्रह गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष तुलाचनले बताउनुभयो ।

यसभन्दा पहिला मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने निर्णय गरेका थिए । उक्त निर्णयपछि ट्रेकिङ एसोसियसन कास्की, होटल व्यवसायी संघ म्याग्दी लगायतले पटकपटक गरेको आग्रह एवं प्रशासनको आग्रहलाई ध्यानमा राख्दै होटल खुलाउन लागिएको मुस्ताङका व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया