नेपाली सेनालाई एएफसीको लाइसेन्स हस्तान्तरण

  पुष १५, २०७७

काठमाडौं, पुस १५ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी क्लब फुटबलको लाइसेन्स हस्तान्तरण गरेको छ । एन्फा क्लब लाइसेन्सिङको अपिल गर्ने निकायले पुस ७ गते त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो ।

जङ्गी अड्डामा बुधबार आयोजित एक समारोहका बीच एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले प्रधानमन्त्री सेनापति पूर्णचन्द्र थापालाई एएफसीको लाइसेन्स हस्तान्तरण गर्नुभयो । लाइसेन्स प्राप्त गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले एशियाली फुटबल संघ मातहात सञ्चालन हुने क्लब तहको अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुन पाउनेछ ।

एएफसीले क्लब लाइसेन्सिङ्गको प्रकृया सन् २०१६ देखि लागू गरे पनि २०१८ देखि अनिवार्य गरेको थियो । सन् २०१९ मा एन्फाले नेपालका सबै ए डिभिजन क्लबहरुलाई लाइसेन्स प्रकृया पूरा गर्न निर्देशन दिएको थियो । तर कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेको थिएन । सन् २०२० मा समेत एन्फाको निर्देशनमा नेपालका सबै ए डिभिजन लिग फुटबल खेल्ने क्लबहरुले लाइसेन्सका लागि आवेदन दिएकोमा मापदण्ड पूरा नगरेको भन्दै सबैको आवेदन अस्वीकृत गरिएको थियो ।

त्रिभुवन आर्मी क्लबले भने छुट्टै विधान तयार गरी फुटबल क्लबको नाममा दर्ता हुनुपर्ने मापदण्ड पूरा गरेपछि लाइसेन्स पाउन अपिल गरेको थियो । आर्मी फुटबल क्लबलाई एन्फा क्लब लाइसेन्सिङको ‘अपिल बडी’ले मापदण्ड तथा योग्यता पूरा गरेकोमा लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया