उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा

  पुष १५, २०७७

काठमाडौँ, पुस १५ : खाडी मुलुकले धमाधम अन्तर्राष्ट्रिय उडान बन्द गर्न थालेका छन् । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ खालको कोरोना भाइरस फैलिन थालेपछि खाडीका देश साउदी अरब, ओमान, कुवेतले अन्तर्राष्ट्रिय उडान बन्द घोषणा गरेका हुन् ।

साउदीले सोमबारदेखि नै लागू हुने गरी व्यावसायिक यात्रुवाहक हवाई उडान एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिन थालेपछि साउदी अरबले एक साताका लागि यात्रुवाहक हवाई उडान बन्द गर्ने घोषणा गरेको साउदी अरब िस्थत नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त अवधिसम्म साउदी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सबै यात्रुवाहक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । साउदी अरबका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंहले साउदी अरबको गृह मन्त्रालयको भनाइ उद्धृत गर्दै साउदीले विशेष परि िस्थतिमा मात्रै उडान अनुमति दिने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि कुवेत र ओमानले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेका थिए ।

खाडीका देशले अन्तर्राष्ट्रिय उडान बन्द गर्दा वैदेशिक रोजगारीका लागि ती देशमा रहेका नेपाली श्रमिकसमेत प्रभावित भएका छन् । दूतावासका अनुसार करार अवधि सकिएका, कोरोना भाइरसका कारण रोजगारी गुमाएका र घर बिदामा आउने तयारी गरेका श्रमिक उडान बन्द भएपछि रोकिएका छन् ।

साउदी अरब नेपाली श्रमिकको तेस्रो ठूलो श्रम गन्तव्य मुलुक हो । साउदी अरबमा साढे तीन लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कार्गो र सामान ओसारपसारका लागि उडान खुला गरेको साउदीले यात्रुवाहक हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न सबै यात्रासमेत रोक लगाएको छ ।

यसअघि पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको नेपालीको श्रम गन्तव्य देश ओमानले कोरोना फैलिने डर कायमै रहेकाले समय थप्न सक्ने ओमान िस्थत नेपाली दूतावासले जनाएको छ । यसैबीच कतारमा कोभिड–१९ को सङ्क्रमण पूर्ण रूपमा न्यूनीकरण नभएको भन्दै कतार िस्थत नेपाली दूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरू पालना गर्न कतारमा रहेका नेपालीलाई आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया