काठमाडौं, पुस १० : प्रधानमन्त्री (पीएम)कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली छनोट गरेको छ । हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुङ्गो लगाएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।
छनोट हुने खेलाडीमा विन्दु रावल (कप्तान), रुवि पोदार (उपकप्तान), मञ्जु बोकटी (विकेटकिपर), रितु कनौजिया, कविता जोशी, डली भट्ट, लक्ष्मी साउँद, कविता कुँवर, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी र सम्झना खड्का रहेका छन् । यस्तै मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी वैकल्पिक खेलाडीका रुपमा छनोट भएका नेपाल क्रिकेट सङ्घका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताउनुभयो ।
प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस ११ देखि दाङको लमहीमा शुरु हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
आठ टीमलाई दुई समूहमा विभाजना गरिएको छ । समूह ‘ए’ मा विभागीय क्लब एपीएफ, प्रदेश नं २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । यसैगरी समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो दिनको दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता पुस १९ सम्म सञ्चालन हुने जनाइएको छ ।