काठमाडौं, पुस ५ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल नौ विकेटले जितेको छ । जितसँगै तीन म्याचको श्रृखंला न्युजिल्याण्डले एक खेल अगावै २–० ले जितेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य न्युजिल्याण्डले खेल सकिन चार बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्याण्डका लागि टिम सैफर्टले केन विलियम्सनसँग दोस्रो विकेटका लागि अविजित १२९ रनको साझेदारी गरी जित सुनिश्चित गर्नुभयो ।
सैफर्टले मात्र ६३ बलमा ८४ रनको पारी खेल्नुभयो । विलियम्सनले ५७ रन बनाउनुभयो । मार्टिन गुप्टिलले २१ रन बनाएर पेभेलियन फर्किनुभयो । पाकिस्तानका लागि फहिम अशरफले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाकिस्तानले २० ओभरमा छ विकेटको क्षतिमा १६३ रनको योगफल तयार गर्यो । पाकिस्तानको पारीमा मोहम्मद हफिजले मध्यक्रममा ९९ रनको पारी खेलेर औसत योगफलसम्म पुर्याउनुभयो । ओपनर मोहम्मद रिजवानले २२ रन बनाउनुभयो । न्युजिल्याण्डका लागि टिम साउदीले सर्वाधिक चार तथा जिम्मी निशम र इश सोढीले एक एक विकेट लिए ।