काठमाडौं, पुुस ६ : शरीरको मोटोपना बढ्दा चिन्तित हुनुहुन्छ भने यसलाई नै अवसर बनाइ सौन्दर्य प्रतिस्पर्धा गर्न सक्ने भएको छ । शरीर मोटो भएको युवतीहरुलाई लक्षित गर्ने ‘सुपर प्लस साइज मोडल नेपाल ’ को आयोजना हुने भएको छ ।
मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ को पुषको चौथो हप्तामा प्रथम चरण हुने जनाइएको छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवतीरमहिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।
आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले प्रथम चरण (अडिसन)मार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने जानकारी दिनुभयो ।
राजपुतका भन्नुुहुन्छ, ‘प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उहाँले जानकारी दिनुभयो । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि आयोजक संस्थाले जानकारी दिएको छ ।