सोलार आयोजनाले व्यावसायिक उत्पादन थाल्यो

  पुष ०५, २०७७

बुटवल, पुस ५ : निजी क्षेत्रबाट सञ्चालित देशकै ठूलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाले व्यावसायिक विद्युत् उत्पादन थालेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेघावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम सम्पन्न गरी व्यवसायिक उत्पादन थालेको हो ।

रुपन्देहीको मणिग्राममा रहेको सोलार आयोजनाको काम सम्पन्न गरी कात्तिक २५ देखि व्यवसायिक रुपमै विद्युत् उत्पादन भइरहेको कम्पनीका कार्यकारी निर्देशक कुबेर नेपालले जानकारी दिए । कोरोना कहर र लकडाउन हुँदाहुँदै पनि कम्पनीले आयोजना सुरु गरेको एक वर्षमै काम सम्पन्न गरी विद्युत्् उत्पादन सुरु गरेको हो ।

तिलोत्तमा नगरपालिका–६ मा २६ बिघा क्षेत्रफलमा तीन सय ३० वाट क्षमताका ३२ हजार सोलार पाता बिछ्याइएको छ । जसबाट ८.५ मेघावाट विद्युत् उत्पादन भइरहेको छ । सोलार पाताबाट उत्पादित डिसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न आठ सय ५० किलोवाट क्षमताका १० इन्भर्टर जडान गरीएको छ । इन्भर्टरबाट आएको विद्युत्लाई ८.५ एमबिएको ट्रान्सफर्मरले ६ सय ९० भोल्टको विद्युत््लाई ३३ केभीमा अपग्रेट गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए । उत्पादित विद्युत् ७.४ किलोमिटरको दूरीमा रहेको अमुवा सबस्टेसनमा जोडिएको छ । आयोजनाले ३३ केभीको ट्रान्समिसन लाइन निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत्् जडान गरेको हो ।

उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिद सम्झौता (पिपिए) गरेको छ । वार्षिक एक करोड ४५ लाख युनिट विद्युत् आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो । यो प्लान्टले दैनिक करिब आठ–नौ घण्टा विद्युत् उत्पादन गरिरहेको आयोजनाका इन्जिनियर कुशल न्यौपानेले बताए । ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत्् उत्पादन हुनेछ । ७१.६५ करोड लागतको आयोजनाबाट वार्षिक १० करोड आम्दानी गर्ने लक्ष्य छ । यो आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपँुजी लगानीमा निर्माण भएको कम्पनीले जनाएको छ । जसमा बैंक अफ काठमाण्डौंको अगुवाइमा सिटिजन्स र नेपाल बंगलादेश बैंकले ४९ करोड लगानी गरेका छन् ।

विद्युत् विकास विभागका अनुसार हालसम्म नेपालमा अधिकतम एक मेघावाटसम्मको सोलार प्लान्ट निर्माण भएको छ । नवलपरासीको रामनगरमा एक मेघावाटको र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ६ सय ८० किलोवाटको सोलार इजर्नीबाट विद्युत् उत्पादन भइरहेको छ । रिडी हाइड्रो पावर कम्पनीले विगत दुई दशकदेखि नविकरणीय ऊर्जाका क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले २४ सय किलोवाट क्षमताको रिडीखेला जलविद्युत् आयोजना २०६६ मा सम्पन्न गरी राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ । धादिङमा पाँच सय किलोवाट क्षमताको रैराङ खोला जलविद्युत् आयोजना र ताप्लेजुङमा नौ हजार नौ सय किलोवाट क्षमताको इवाखोला आयोजना सम्पन्न गरेको छ ।

नेपाल सरकारको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत्् विकास दशकसम्बन्धी अवधारणा पत्र र कार्य योजना २०७२ को ऊर्जा मिश्रणको नीतिअनुरुप २०७३ जेठमा खुल्लारुपमा टेन्डर आह्वान गरेको थियो । ६३ मेघावाट क्षमताका आयोजनाका लागि गरिएको बोलपत्रमा ६१ मेगावाट बराबरका १८ आयोजना अघि बढेका थिए । जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुटवल ग्रिड जडित सौर्य विद्युत् आयोजनाको टेन्डर हात पारेको थियो ।

ग्रिड जडित सौर्य विद्युत् आयोजनाको नीति नै अष्पष्ट भएको र भन्सार महशुल नीति जलविद्युत् सरह गरिनु पर्ने माग उठेपछि केही समय आयोजनाका काम अगाडि बढ्न सकेन । अन्ततः सरकारले ०७५÷७६ को बजेटबाट जलविद्युत् सरह सौर्य विद्युत्् आयोजनाको भन्सार महशुल नीति लागु ग¥यो । त्यसपछि बल्ल ग्रिड जडित सौर्य विद्युत् आयोजना निर्माण सुरु गरिएको नागरिकन्युज अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया