काठमाडौं, कात्तिक १९ : मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा इन्डियन प्रिमियर लिगमा फर्किनुभएको छ । मंगलबार हैदराबादविरुद्धको खेलमा उहाँको वापसी भएको हो । तर उक्त खेलमा उहाँले मात्र चार रन जोड्न पाउनुभयो ।
किंग्स एलेभन पञ्जाब विरुद्ध दुई पटक सुपर ओभरको खेलपछि मात्रै नतिजा आएको खेलमा घाइते भएपछि उहाँ प्रिमियर लिगको चार खेलमा अनुपस्थित हुनुपर्यो । उक्त अवधिमै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले अष्ट्रेलिया भ्रमणको लागि टेष्ट, एकदिवसीय र टी ट्वान्टी टोलिको घोषणा गर्दा रोहित शर्मा टोलीमा अटाउन सक्नुभएन ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले रोहित शर्मा निको भएपछि फिटनेश परीक्षण सफल भए मात्रै टोलिमा अटाउन सक्ने बयान दिनुभएको छ । शर्माले हैदराबादविरुद्धको खेलपछि आफू पूर्णरुपमा स्वस्थ भएको र छिट्टै वापसी गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।