मुम्बईलाई हराउँदै हैदराबाद अन्तिम चारमा, कलकत्ता बाहिरियो

  कार्तिक १९, २०७७

काठमाडौं, कात्तिक १९ : सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिगको अन्तिम चारमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा उसले प्रतियोगिताका दाबेदार मुम्बई इन्डियन्सलाई हराउँदै अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो ।

हैदराबादको जितसँगै कलकत्ता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएको छ । कलकत्ताले अन्तिम चारमा स्थान बनाउन मुम्बईले हैदराबादलाई हराउनुपर्ने थियो । तर हैदराबादलाई मुम्बईमाथि दश विकेटको विशाल अन्तरको जित हात पारेपछि कलकत्ताको अन्तिम चार पुग्ने सपना तुहियो । प्रिमियर लिगको अन्तिम चारमा मुम्बई इन्डियन्स, देल्ही क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंग्लौर र सनराइजर्स हैदराबादले स्थान सुनिश्चित गरेको हो ।

शारजाहमा मुम्बईले प्रस्तुत गरेको १५० रनको औसत लक्ष्य हैदराबादले खेल सकिन १७ बल बाँकी छँदै बिना कुनै क्षतिमा पुरा गर्यो । हैदराबादको जितका कप्तान देविड वार्नरले सर्वाधिक ८५ तथा ऋधिमन साहले ५८ रनको योगदान दिनुभयो ।

यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल तयार गर्यो । उसको पारीमा क्यारन पोलार्डले बनाउनुभएको ४१ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । सूर्यकुमार यादबले ३६ तथा इशन किशनले ३३ रन बनाउनुभयो ।

मुम्बईलाई सामान्य योगफलमा रोक्न हैदराबादका लागि सन्दीप शर्माले सर्वाधिक तीन विकेट लिनुभयो । जैसन होल्डर र शहवाज नदिमले दुई तथा राशिद खानले एक विकेट लिनुभयो । नदिम प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया