क्रिष्टियानो रोनाल्डो कोरोनमुक्त

  कार्तिक १५, २०७७

काठमाडौं, कात्तिक १५ : जुभेन्ट्सका स्टार क्रिष्टियानो रोनाल्डो कोरोनामुक्त हुनुभएको छ । उहाँ करिब तीन सातासम्म आइसोलेशनमा बसेपछि कोरोनामुक्त हुनुभएको हो ।

पोर्चुगलको प्रतिनिधित्व गरी अक्टोबर ११ मा म्याच खेल्नुभएका रोनाल्डोमा दुईदिनपछि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको थियो । इटाली सिरी ए का जुभेन्ट्सले शुक्रबार एक वक्तब्य जारी गरी स्वाब परीक्षणपछि रोनाल्डोमा कोरोना परिणाम निगेटिभ देखिएको उल्लेख गरेको छ ।

जुभेन्ट्सले सिरी ए कै खेलमा स्पेजिया विरुद्ध आइतबार खेल्नेछ । एकपछि अर्को खेलाडी सङ्क्रमित हुन थालेपछि सिरी ए का सबै खेलहरु अबदेखि दर्शकको अनुपस्थितिमा खेलाइने भएको छ ।

इटाली सिरी ए को नेतृत्वकत्र्ता एसी मिलानले समेत आफ्नो डिफेन्डर मटेओ गाबिया, गोलकिपर जिअनलुगि डोनारुमा र स्ट्राइकर जेन्स पिटर हौज समेत कोरोनामुक्त भएको जनाएको छ । इटालीमा शुक्रबार मात्रै कोरोनाभाइरसका ३१ ह्जार नयाँ बिरामी पहिचान गरिएको छ ।

३५ वर्षीय रोनाल्डो होम आइसोलेशनमा बस्दा चार खेल गुमाउनुपर्यो । जसमध्ये बुधबार लियोनल मेस्सीको बार्सिलोनासँग च्याम्पियन्स लिगमा जुभेन्ट्स २–० ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया