खसीबोकाको कारोबारसँगै आर्थिक गतिविधि विस्तार

  कार्तिक ०४, २०७७

काठमाडौँ, कात्तिक ४ : काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा खसीबोका, भेडा र च्याङ्ग्राको कारोबार बढेको छ । दसैँलगायतका चाडपर्व आउँदा कारोबारमा भएको वृद्धिले राजधानीदेखि गाउँसम्म आर्थिक गतिविधि विस्तार गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिला सहकारीमार्फत बाख्रापालन र खसीबोकाको कारोबार हुँदा स्थानीय स्तरमा ठूलो परिमाणमा आर्थिक गतिविधि भएको छ ।

राजधानीका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले र निजी क्षेत्रबाट खसीबोका, भेडा र च्याङ्ग्रा बिक्री गर्न थालिएको छ । खाद्यले बिक्रीका लागि ल्याएका ६०० खसीबोका सोमबारबाट बेच्न थालेकामा एकै दिनमा सकिएका छन् । थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट कम्पनीले जिउँदो खसीबोका प्रतिकेजी ५५० रुपियाँमा बिक्री गरेको हो ।

बजारमा भन्दा एक सय रुपियाँ सस्तो मूल्यमा कम्पनीले बिक्री गरेपछि ल्याइएका खसीबोका एक दिनमै बिक्री भएको कम्पनीले जनाएको छ । बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६०० देखि ६५० रुपियाँ पर्ने भएपछि खाद्य कम्पनीले ५५० रुपियाँमा बिक्री गरेको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले खसीबोकामध्ये ५८० बिक्री भइसकेको र अझै किन्नलाई उपभोक्ता आइरहेकाले सकिने अवस्था देखिएको जानकारी दिनुभयो ।

मकवानपुर समाचारदाताका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँमा बिक्री गर्न हेटौँडाबाट चार सय खसीबोका खरिद गरेको थियो । कम्पनीको वीरगञ्जस्थित शाखा कार्यालयका प्रमुख विकास कटुवालले काठमाडौँको माग र केन्द्रीय कार्यालयको निर्देशनअनुसार बढी सङ्ख्यामा आएमा थप खसीबोका अवस्थाअनुसार खरिद गर्न सकिने बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले पहिलो चरणमा कम्पनीले बिक्री गर्ने एक हजार खसीबोकामध्ये दाङबाट ल्याउनुपर्ने ६०० मध्ये २०० आइसकेको र बाँकी ४०० भोलिसम्म आइपुग्ने बताउनुभयो ।

च्याङ्ग्रा प्रतिकेजी हजारमा
हरेक वर्ष दशैँमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्यले यस वर्ष च्याङ्ग्रा ल्याएन । तर केही निजी क्षेत्रका व्यापारीले मुस्ताङबाट ल्याएर बेच्न थालेका छन् । निजी व्यापारीले भक्तपुरको सल्लाघारीमा जिउँदो च्याङ्ग्रा प्रतिकेजी एक हजार रुपियाँमा बिक्री गरिरहेरहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया