‘कोरोनाले गरिबीको दुष्चक्र झनै बढायो’

  कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य नहुँदासम्म नागरिकको सुख र समृद्धिको चाहना पूरा हुन नसक्ने बताउनुभएको छ ।

गरिबी निवारणका प्रयासलाई प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा शुक्रबार मन्त्री अर्यालले विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा रहेको कोरोनाले गरिबीको दुष्चक्र झनै बढाएको चर्चा गर्नुभएको छ । हाल नेपालमा १८.७ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । यो भनेको नेपालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने यथार्थ देखिएको मन्त्री अर्यालले बताउनुभएको छ ।

नागरिकले आधारभूत आवश्यकता सहज रूपमा पूर्ति गर्ने व्यवस्थाको सुनिश्चितता नहुन्जेल नेपाली जनताको तीव्र आर्थिक विकासको चाहना सम्भव हुँदैन । यी तथ्यलाई ध्यानमा राखी नेपाल सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्ग दर्शनका रूपमा गत आर्थिक वर्षमा नै गरिबी निवारण नीति ल्याएको छ ।

विभिन्न निकायबाट सञ्चालित गरिबी निवारणका कार्यक्रमलाई गरिबमुखी बनाई समन्वयात्मक ढङ्गबाट सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षभित्र सबै गरिब परिवारको पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । मुलुक सङ्घीय शासन प्रणालीको अभ्यासबाट आर्थिक एवं सामाजिक समृद्धि प्राप्त गर्ने दिशामा अघि बढिरहेको छ चर्चा गरिएको छ ।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच तय गरी व्यवहारमा रूपान्तरण गर्न आवधिक योजनाको कार्यान्वयन गरिरहेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रूपमा मनाउन आह्वान गरेपश्चात् विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिएको छ । यस वर्षको नारा ‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ रहेको छ ।

तपाईको प्रतिक्रिया