मुस्ताङ र डोल्पाका च्याङ्ग्रा पोखरा झारियो, भाउ छोइनसक्नु

  असोज २८, २०७७

पोखरा, असोज २८ : नजिकिदै गरेको दशैंलाई लक्षित गदै पोखरामा मुस्ताङबाट भेडा च्याङग्रा ल्याउने क्रम सुरु भएको छ । दशैंका लागि प्रत्येक बर्ष मुस्ताङसगै देशका अन्य भागबाट भेडा च्याङग्रा ल्याउने गरिएको छ । बुधबारसम्म पोखरामा चार हुलमा गरि एक हजारको हाराहारीमा भेडा च्याङग्रा भित्रिएको छ ।

विशेष गरी पोखरामा मुस्ताङ, डोल्पा, चीनको तिब्बत लगायतका क्षेत्रमा भेडा च्याङग्रा भित्रिने गरे पनि कोरोनाका कारण नाका बन्द भएकाले तिब्बतवाट आउने भेडा च्याङग्रा आउन नपाउँदा यस वर्ष मुस्ताङ र डोल्पावाट मात्र आएका छन् ।

आएका भेडा च्याङग्रा बिक्रीका लागि पोखरा २५ हेम्जामा पर्ने पोखरा बाग्लुङ राजमार्ग अन्र्तगत सडकका दाँया वाँया किनारमा राखिएका छन् । व्यापारीहरुका अनुसार गत वर्ष नेपालका विभिन्न स्थानबाट गरि पोखरामा करिव ३५ हजारको हाराहारीमा भेडा च्याङग्रा ल्याइएको भए पनि यस वर्ष नेपालका विभिन्न स्थानवाट गरि बढीमा १५ हजारको संख्यामा मात्र ल्याइने बताएका छन् ।


नाका बन्द सगै चिन र तिब्बतवाट भेडा च्याङग्रा ल्याउन नपाउदा गत वर्षको तुलनामा एउटैको मुल्य समेत करिव १० हजारले बढी पर्ने व्यापारीहरु वताउँछन् । चीन र तिब्बतवाट नआउने भएपछि मुस्ताङमै व्यापारीहरुले मुल्य बढी लिएकाले गत वर्षको तुलनामा मुल्य बढी परेको व्यापारी प्रकाश कुवँरको भनाई छ । पोखरा १५ घर भएका कुवँरले १७८ वटा च्याङग्रा ल्याउनुभएको छ ।

मुस्ताङमै प्रति च्याङग्रा २८ हजारमा खरिद गरेको र पोखरा ल्याउँदा प्रति गोटा दुई हजार खर्च भएको कुवँर वताउनुहुन्छ । पोखरामा प्रति गोटा ३३ देखी ३५ हजारमा विक्री गरेको उहाँको भनाई छ । २७ लाख लगानी गरेको उहाँले १० लाख कमाउनेसोच रहेको बताउनु भयो ।


गत वर्ष २० हजारको हाराहारीमा पर्नेलाई हाल २८ देखी ३० हजार मुस्ताङमै तिर्नु परेको अर्का व्यापारी रमेश श्रेष्ठ बताउनुहुन्छ । ३५ देखी ३७ हजारमा च्याङग्रा विक्री गरेको श्रेष्ठको भनाई छ । कोरोनाका कारण चीन र तिब्बतवाट आएन अनि मुस्ताङमै व्यपारीहरुले मुल्य बढाए, जसका कारण यो वर्ष एउटैको करिव १० हजार मह्गो पर्न गएको उहाको भनाई छ । २ सय ३९ च्याङग्रामा उहाँले ६४लाख लगानी गरेको जानकारी दिनु भयो ।


च्याङग्रा किन्न पुगेका पोखराको बगरका दौलत सिहं यो एउटा अस्वभाविक मूल्य बृद्धि भएको बताउनु हुन्छ, हरेक वर्ष किन्दै आएको छु यो वर्ष १० हजारले मूल्य बढेको छ, एउटा च्याङग्रा खान गाँउको घडेरी बेच्नुपर्ने जस्तो मूल्य भो, आर्थिक मन्दी भइरहेको बेला दशै मनाउन नसकिने उहाँको गुनासो छ ।

विगतमा जस्तो स्थानिय बाटोमा पर्ने स्थानिय तहरुले कर भने नलिएको व्यापारीहरुको भनाई छ । हाल पोखराका फ्रेस हाउसहरुले १६ सय प्रतिकिलोमा च्याङग्राको मासु बिक्री वितरण गदै आएका छन् ।

विशेष गरीे पोखरामा फुलपातीको दिनमा च्याङग्रा बढी विक्री हुने गरेको छ । पोखराको पुरानो टुडिखेलमा च्याङग्राहरु बिक्रिका लागि राखिने र त्यहाँ ठुलो मेला समेत लाग्ने गरेकोमा यस पटक कोरोनाका कारण केही कार्यक्रमहरु भने नहुने भएको छ । व्यापारीहरुले भेडा च्याङग्रा आफनै तरिकाले बेच्ने भएका छन् ।

पोखरा आएका भेडा च्याङग्रा विभिन्न माध्यम मार्फत काठमाण्डौदेखि देशका अन्य भागहरुमा पुग्ने गरेका छन् । च्याङग्रा किन्न छिमेकि जिल्लाहरुबाट समेत मानिसहरु पोखरा आउने गरेकोमा कोरोनाका कारण यस वर्ष अघिल्लो वर्षको जस्तो मानिसहरुको चहल पहल नहुने अनुमान गरिएको छ ।

व्यापारीकहरुका अनुसार कात्तिकको सुरुमा मुस्ताङबाट सबै च्याङग्रा पोखरा आइपुग्ने छन् । केही व्यवसायीले तिहारसम्म पनि च्याङग्रा ल्याउने गरेका छन् । व्यवसायीहरुका अनुसार मुस्ताङबाट पोखरासम्म भेडा च्याङग्रा ल्याउन करिब १० दिन लाग्ने गदर्छ ।

तपाईको प्रतिक्रिया