बलेवा विमानस्थलको धावनमार्ग निर्माण अन्तिम चरणमा

  असोज २८, २०७७

गलकोट, असोज २८ : कोरोना भाइरस र लामो वर्षात्का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ । गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्र गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि शुरुमा कोराना भाइरस र लगातारको वर्षाका कारण विमानस्थलको काम प्रभावित बने पनि वर्षा रोकिएपछि कालोपत्रका लागि आवश्यक कामले तीव्रता पाएको छ ।

कालोपत्रका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माणकार्यले पुनः गति लिएको हो । विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत विसं २०७६ फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण प्रभावित बन्दै आएका कारण धावनमार्ग कालोपत्रको काम केही समय पछाडि धकेलिएको छ ।

अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । “हामीले शुरुमा कोरोना भाइरस र लगातारको वर्षाका कारण काम गर्न सकेका थिएनौँं”, थापाले भन्नुभयोे, “वर्षा रोकिएपछि दुई हप्ता अगाडिदेखि निर्माणमा तीव्रता दिँदा कटिङको काम सकिएको छ, ग्राभेल सङ्कलन गरिरहेको र तिहारलगत्तै ग्राभेल गरिने छ ।”

अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ । आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने ठेकेदार कम्पनीको दाबी छ । धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको थियो ।

आगामी फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा २२ मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो । कोरोना र वर्षाका कारण निर्माणमा ढिलाइ भएकाले सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रका लागि समस्या हुने देखिएको छ ।

विमानस्थलको धावनमार्ग र विमान पार्किङ कालोपत्रसँगै विमानस्थल क्षेत्रको तारबार र नाली निर्माण गरिने छ । निर्माण कम्पनीका कारण कालोपत्रमा ढिलाइ नभए पनि कोरोना र वर्षाका कारण समस्या भए पनि पछिल्लो समय निर्माणले गति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि दीपक बगालेले जानकारी दिनुभयो । बगालेका अनुसार धावनमार्ग माटोको सतहबाट १४ इन्च ग्राभेल र दुई इन्च कालोपत्र गरिनेछ । २६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

७६४ खरका छाना विस्थापित गरिँदै

बागलुङ क्षेत्र नं १ अन्तर्गत रहेका चार पालिकाकाका ७०० बढी घरका खरका छाना विस्थापित गरिने भएको छ । सङ्घीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ७६४ घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो । खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत पुग्नेछ । स्थानीय सरकारले शुरु गरेको खरको छानामुक्त गर्ने अभियानलाई सकारात्मक कदमका रुपमा लिइँदै आइएको छ ।

स्थानीय तहले खरका छाना विस्थापित गर्ने कार्यक्रम ल्याए पनि थोरै बजेटका कारण पालिकाका सबै खरका छाना विस्थापित गर्न नसकिएका कारण सङ्घीय सरकारले आगामी दुई वर्षभित्रमा खरका छाना विस्थापित गर्ने गरी कार्यक्रम स्वीकृत गरेको सङ्घीय सांसद तथा सुरक्षित नागरिक आवास समन्वय समिति बागलुङका संयोजक डा सूर्य पाठकले जानकारी दिनुभयो ।

स्थानीय तहले सङ्कलन गरेको खरका छानाको सङ्ख्याका आधारमा कार्यक्रम स्वीकृत भएर आएको डा पाठकको भनाइ छ । “अबको दुई वर्षभित्र सक्ने गरी क्षेत्र नं १ का सबै खरका घरमा जस्ता लाइनेछ”, सांसद पाठकले भन्नुभयो, “खरका छानामुनि बस्नुभएका नागरिकलाई सुरक्षित आवासका लागि स्थानीय तहको संयोजनमा सङ्घीय सरकारले काम थालेको हो ।”

डा पाठकका अनुसार ७६४ घरका लागि प्रतिपरिवार रु ५० हजार बराबरको जस्तापाता उपलब्ध गराइनेछ । जसका लागि बागलुङ क्षेत्र नं १ मा मात्रै रु तीन करोड ८२ लाख खर्च गरिनेछ । यसवर्ष नै अधिकांश घरमा रहेको खरको छाना विस्थापित गरिने भए पनि छुट भए अर्को वर्ष यस क्षेत्रलाई खरको छानामुक्त गरिनेछ । स्थानीय सरकारले गर्दै आएको कामलाई सङ्घीय सरकारले निरन्तरता दिएकाले नागरिकले छिट्टै खरको छानामुक्त घर पाउने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

खरको छाना विस्थापित हुनेमा बागलुङ नगरपालिकामा १६४, जैमिनी नगरपालिकामा २३०, बरेङ गाउँपालिका ९६ र काठेखोला गाउँपालिका १७४ घर छन् । स्थानीय तहले आफ्नो पालिकामा विस्थापित गर्न बाँकी रहेका खरको छाना भएको घरको विवरण सङ्घीय सरकारलाई पेश गरेपछि कार्यक्रम स्वीकृत भएर आएको हो ।

यस्तै बढी मात्रामा खरका छानासहितको घर भएको जैमिनी नगरपालिकामा सङ्घीय सरकारले विषेश अनुदानमार्फत रु एक करोड २० लाख बजेट स्वीकृत भएर आएको सांसद पाठकले जानकारी दिनुभयो । गरिबीका कारण खरका छाना हटाउन नसकेका स्थानीयवासीलाई सरकारले खरको छानामुक्त गर्ने योजना ल्याए विपन्न समुदायलाई राहत हुनेछ । नागरिकको सुरक्षित आवास भए मात्रै अन्य विकास गर्न सकिन भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो ।

तपाईको प्रतिक्रिया