तातोपानी नाका भोलिबाट खुल्ने, दशैं अघि सबै सामान ल्याइने

  असोज १८, २०७७

सिन्धुपाल्चोक, असोज १८ : तीन महिनादेखि बन्द तातोपानी नाका भोलिबाट सञ्चालन हुने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो ।

असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् ।

ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो ।

असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।

खासा क्षेत्रबाट कन्टेनर भित्रिएपछि सो नाका बन्द हुने वा संधैं सुचारु हुने भन्ने बिषयबारे केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन् ।

मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर नेगेभिट रिपोर्ट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन् ।

सामान लोड अनलोड गर्ने चिनियाँ र नेपाली मजदुरको प्रत्येक हप्ता कोभिड १९ परीक्षण भईरहने प्रजिअ ढकालले बताउनुभयो ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले असोज १९ गतेबाट तातोपानी नाकाबाट दैनिक १६ वटा मालबाहक कन्टेनर नेपालीभूमि तातोपानी भन्सार कार्यालय भित्रिने बताउनुभएको छ ।

नजिकिएको बिजया दशमी अघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्नेछन् ।

सो कन्टेनर पछि नाका खुल्ने वा नखुल्नेबारे कुनै जानकारी आएको छैन् उहाँले भन्नुभएको छ ।

तातोपानी नाका र रसुवा नाका सधैं खोलिनु पर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सरकारसंग आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार तातोपानी नाका २०७२ सालको भूकम्पले बन्द भएपछि दश हजारभन्दा बढी ब्यापारी, मजदुरहरु बिस्थापित हुनुपरेको छ ।

०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो । कोरोना महामारीको कारण देखाउदैं चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो ।

गोरखापत्र

तपाईको प्रतिक्रिया