काठमाडौं, असोज १७ : लिभरपुलका फरवार्ड साडिओ माने कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सङ्क्रमणको पुष्टि भएसँगै साडिओ माने अलग्गिनुभएको छ ।
लिभरपुलले मीडफिल्डर थिएगो अल्कान्टरा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जनाएको तीन दिनपछि माने समेत सङ्क्रमित भएको बीबीसीले उल्लेख गरेको छ । सेनेगलका मानेमा भाइरस सङ्क्रमणको सामान्य लक्षण देखिएपनि स्वास्थ्य अवस्था ठीक रहेको लिभरपुलले जनाएको छ ।
लिभरपुलले गत् सोमबार आर्सनललाई ३–१ ले हराउँदा टोलिमा रहनुभएका २८ वर्षीय माने बिहीबार सम्पन्न इएफएल कपमा भने सहभागी हुनुभएन । उक्त खेलमा लिभरपुल पेनाल्टीमा हार बेहोरेको थियो ।
सङ्क्रमणको पुष्टि भएसँगै अलग्गिएका मानेले प्रिमियर लिगको आगामी खेलमा सहभागी हुनुहुने छैन् । जारी सिजनमा उहाँले तीन गोल गर्नुभएको छ । आइतबार हुने प्रिमियर लिगको खेलमा लिभरपुलले आष्टन भिल्लाको सामना गर्दैछ ।