सिन्धुलीगढीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने छ : पर्यटन मन्त्री

  असोज १५, २०७७

काठमाडौँ, असोज १५ : समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सांसद हरिबोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्तले सो पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

पुस्तक विमोचन गर्दै मन्त्री भट्टराईले सिन्धुलीगढीमा वीर गोर्खालीले अँग्रेजी सेनालाई परास्त गरेर नेपालीको स्वतन्त्रता जोगाउन भूमिका निर्वाह गरेकाले सिन्धुलीगढीको विकास गर्न सरकारले काम गर्ने बताउनुभयो । उहाँले अँग्रेजसँग युद्ध भएको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल बेलायत मैत्री स्थलका रुपमा विकास गर्न सकिने पनि बताउनुभयो । उहाँले सिन्धुलीहुँदै निर्माण भएको तीन वटा राष्ट्रिय राजमार्गका कारण पनि सिन्धुलीको पर्यटन सम्भावना रहेको जनाउनुभयो ।

सांसद गजुरेलले सिन्धुलीगढीको ऐतिहासिक दरवार पुनर्निर्माण गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इतिहासकार प्रा। पन्तले सिन्धुलीगढीले नेपालको एकिकरणमा समेत भूमिका निर्वाह गरेको उल्लेख गर्दै उक्त स्थलमा जथाभावी संरचना निर्माण गरेर इतिहास मेटाउन नहुनेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया