बेनी, असोज ११ : हिमालपारिको जिल्ला मुस्ताङमा अन्य विकास पूर्वाधारका दृष्टिले निकै पछाडि छ । यो जिल्ला प्राकृतिक सम्पदाले जति धनी छ त्यति रुपमा खेलपूर्वाधारले सम्पन्न छ । देशकै राजधानीमा त पर्याप्त पूर्वाधार नभएका बेला हिमाल पारीको जिल्लामा त धेरै आश नगर्न स्वभाविक हो तर स्थानीयको लगनका कारण प्रत्येक वर्ष हुने थाक खेलकुद तथा साँस्कृतिक महोत्सवले जिल्लामा खेल पूर्वाधारहरु थप्दै गएको छ ।
सदरमुकाम जोमसोमदेखि तल्लो भेग घाँसासम्मका आठ वटा क्लबछन् । ती क्लबले एकीकृत संयोजनबाट बनेको थाक खेलकुद तथा साँस्कृतिक संघले प्रत्येक वर्ष असोजको पहिलो हप्ता खेलकुद तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने गर्दछ । सोही महोत्सव आयोजना स्थलहरुमा प्रत्येक वर्ष हुने कार्यक्रममा खेलपूर्वाधार निर्माण हुने गरेका छन् । जिल्लाको घाँसा, लेते, ताक्लुङ, टुकुचे, मार्फा, स्याङ र जोमसोममा कवर्डहल भलिबल खेल मैदान र आर्चरी खेल मैदान तयार भएका छन् ।
पचास वर्ष पुरानो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघले प्रत्येक वर्ष आलोपालो गिरेर मेला गर्ने गर्दछ । सोही मेला आयोजना गर्नका लागि कबर्ड हल तथा भलिबल र आर्चरी खेल्ने ग्राण्ड पनि बनाउने गरेकोछ । संघका सचिव दिपक लालचनका अनुसार हाल सम्म सबै स्थानमा गर्दा १० करोड भन्दा बढीको लागतमा स्थानीयका लागि उत्कृष्ट कबर्ड हल तथा खेल मैदान निर्माण भएको छ । लालचन भन्नुहुन्छ–‘स्थानीयको श्रमदान, राज्यको निकायको बजेट तथा विदेशी शहयोग समेत मिलाएर खेल पूर्वाधार निर्माण हुने गरेको छ ।’
संघका अध्यक्ष चन्द्रमोहन गौचनका अनुसार थासाङ गाउँपालिकाको घाँसा, लेते, ताक्लुङ, कोबाङ, टुकुचे एवम् घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोममा कबर्ड हल ससहित भलिबल तथा आर्चरी खेल्नका लागि मैदान निर्माण भएका छन् । अधिकांश क्षेत्रमा निर्माण भएका खेल पूर्वाधारहरु राज्यकै निकाय, स्थानियको जनश्रमदान तथा वैदेशिक रोजगारीमा गएकाहरुको सहयोग र वैदेशिक सहयोग समेत गरी खेल पूर्वाधार निर्माण भएका छन् ।
गाेरखापत्र