श्रम स्वीकृति लिन अव्यवस्थित भीड

  असोज १०, २०७७

काठमाडौँ, असोज १० : एकअर्काबीच ठेलमठेल, न सामाजिक दूरी न मुखमा माक्स । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौँका ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा विदेश जान श्रम स्वीकृति लिनेको यस्तो दृश्य हेर्दा लाग्छ अब कोरोना भाइरसको जोखिम सकियो ।

चितवनका विजय क्षेत्रीले पुनः श्रम स्वीकृति लिएर कतार जान ताहचलको श्रम कार्यालय धाउन थालेको तीन दिन भयो तर पनि सेवा पाउनुभएको छैन । पुनः श्रम स्वीकृति लिएर जानलाई उहाँले काम गरिरहेको रोजगारदाता कम्पनीबाट ‘नो अब्जेसन लेटर’ कार्यालयको इमेल ठेगनामा आउनुपर्छ ।

उहाँले काम गरेको रोजगारदाता कम्पनीले उक्त लेटर कतारमा रहेको नेपाली दूतावासको इमेल ठेगनामा पठाइदिएछ । त्यसैले इमेल नआएर श्रम स्वीकृति पाउनुभएको छैन । चार दिनभित्र कतार नपुगे भिसा सकिन्छ । चिठी नभई श्रमले दिँदैन ।

क्षेत्रीले भन्नुभयो, “ऋणले थिचिसक्यो, भीडभाडमा मास्क लगाउँदा झन आत्तिन्छु । त्यही भएर निकालेर ब्यागमा राखेको छु । ” भीडमा मास्क नलगाउने उहाँ मात्रै होइन, उहाँसँगै उस्तै सेवा लिन आउनुभएका सर्लाहीका विकास यादवको त आउँदाआउँदै मास्क नै हरायो ।

उहाँले भन्नुभयो, “किन्न जाउँ भने लाइन छुट्छ । काम हुँदैन त्यसैले त्यतिकै लाइनमा बसेको छु । ” १६ वर्ष साउदी बसेर पुनः श्रम स्वीकृतिका लागि दुई दिनदेखि श्रम कार्यालय धाइरहनुभएका पर्वतका राजुप्रसाद सुवेदीले कोरोनाको जोखिममा भीडभाड देखेर डर लागेको तर लाइनमा बस्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई दिन भयो धाउन थालेको, कहिले नो अब्जेसन लेटर, कहिले कम्पनीसँग भएको एग्रिमेन्ट पेपर भन्छन् । उताबाट पठाएँ भन्छ, इमेल चेक गर्न भन्न डराइडराई लाइनमा बसेको छु ।”

कोरोनाको जोखिममा श्रम कार्यालय परिसरमा बिनामास्क लाइनमा भीडभाड गर्र्नेलाई प्रशासनले सचेत गराउनुपर्नेमा कसैले त्यसो गरेको पाइएन । भीडभाड हुने सरकारी कार्यालयमा हात धुने साबुन, पानी र सेनिटाइजरको त के कुरा गर्नु र ! माक्सबिना पस्नेलाई त कुनै जाँच छैन, वरै उभिएका तनहुका रमेश अधिकारीले भन्नुभयो ।

पुनः श्रम स्वीकृति लिएर संयुक्त अरब इमिरेट्स (यूएई) जानलाई आउनुभएका उहाँले भन्नुभयो, “बिहानैदेखि यो कार्यालयमा यस्तै भीडभाड छ । श्रम लिन लाइन बस्दा कोरोना सङ्क्रमित भइन्छ कि भन्ने डरले लाइनमा बस्न सकेको छैन । कर्मचारीले लाइनमा नबसी श्रम स्वीकृति दिन मिल्दैन भन्छन् । ” श्रम लिनेलाई टोकन नम्बर दिने र त्यही नम्बरका आधारमा श्रम दिने भनेर प्रचार गरे । त्यो पनि प्रचारमै सीमित भयो, टोकन प्रणाली लागू भएको भए त जोखिम कम हुने थियो नि, उहाँले भन्नुभयो ।

श्रम कार्यालयका निर्देशक एवं सूचना अधिकारी छत्रबहादुर शाहले वैदेशिक रोजगार कार्यालयमा प्रयास गर्दागर्दै पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउन नसकेको स्वीकार गर्नुभयो । उल्टै उहाँले प्रश्न गर्नुभयो, “प्रयास नगरेका होइनौँ तर सकिएन । अधिकांश विदेशमा बसेर पुनः फर्किने हुनुहुन्छ, सरकारले दिनहुँ भनेको भन्यै छ, सेवाग्राहीले बुझ्ननुपर्दैन ?”

उहाँले सेनिटाइजर नराखे पनि हात धुने पानी र साबुनको व्यवस्था गरेको तर सेवाग्राहीले वास्तै नगरेको दाबी गर्नुभयो । उहाँले टोकन प्रणाली कुनै बेला भए पनि त्यो प्रणाली अहिले कार्यान्वयन नभएको पनि स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया