सर्लाही भदौ ३० : जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण सुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सबस्टेशन निर्माणलाई तीव्रता दिइएको हो ।
नेपाल विद्युत् प्राधिकरणको करिब रु १५ करोड लागतमा विद्युत् सबस्टेशन निर्माण शुरु भएको हो । अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौबाट सबस्टेशन निर्माण शुरु गरेको सबस्टेशनका प्रमुख निरञ्जन साहले जानकारी दिनुभयो । सबस्टेशन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले बताउनुभयो । अहिले जिल्लामा आफ्नो व्यवस्थित सबस्टेशन नहुँदा धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाट विद्युत् ल्याउनु परिरहेको छ ।
यसरी बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताउनुभयो । सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङगल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई मध्यनजर गर्दै जिल्लामै सबस्टेशन निर्माण शुरु गरिएको उहाँले बताउनुभयो ।
डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक र वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका छन् । जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याउन सबस्टेशन निर्माण शुरु भएको हो । जिल्लामा अरु पनि सबस्टेशन रहेका भए पनि सबस्टेशनको क्षमताले अपुग भएपछि छुट्टै यो सबस्टेशन निर्माण थालिएको सबस्टेशनका प्रमुख साहले बताउनुभयो । जिल्लामा उद्योगधन्दा तथा कलकारखाना दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेशन निर्माण शुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताउनुभयो ।
अनियमित विद्युत् कटौतीको मारमा जिल्लावासी
केही दिनयता छिनछिनमा विद्युत् कटौती हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् । दश–दश मिनेटमा विद्युत् झ्यापझ्याप जाने र लाइन आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज आउँदा जिल्लावासी आजित बनेका छन् । अत्यन्त चर्को गर्मी मौसममा अनियमित विद्युत् कटौती हुनु र आउँदा पनि अत्यन्त न्यून भोल्टेज आउँदा पङ्खासमेत नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आएको जिल्लाका उपभोक्ताहरुको गुनासो छ ।
अनियमित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेका एक व्यवसायीले गुनासो गरेका छन् । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने अवस्था रहेको व्यवसायीको गुनासो छ । त्यस्तै अनियमित विद्युत् कटौतीले अनलाइन कक्षा पढ्ने विद्यार्थीसमेत मारमा परेका छन् ।
क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत् प्रवाहमा बारम्बार समस्या आइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रसारण लाइन हरिपुर, बरहथवा र मलङ्गवा सबस्टेशन हुँदै जिल्लाभर वितरण भइरहेको छ । “जिल्लाका तीन सबस्टेशनले ३३ केभीबाट लिएको करेन्ट ५०० एम्पियरसम्म पुग्ने गरेको छ तर जिल्लामा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा जम्पर खाने अर्थात् तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको छ”, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख रायले भन्नुभयो ।
उहाँका अनुसार वाग्मती र चन्द्रनिगाहपुरबीचको जङ्गलमा कुनै एक ठाउँमा रुखका हाँगा भाँचिएर तारमा खस्दा पनि लालबन्दीबाट प्राविधिक गएर ठाउँ पहिचान गरी मर्मतको काम गर्दा घण्टौँसम्म विद्युत् ठप्प हुने गरेको छ । हरेक दिन भोल्टेज अनियमित भई विभिन्न सबस्टेशनमा जम्परिङ हुँदा पटक–पटक विद्युत् अनियमित भइरहेको छ । वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् । जिल्लाको नवलपुरमा बनिरहेको सबस्टेशन सञ्चालनमा नआउँदासम्म जिल्लामा विद्युत्को समस्या रहिरहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।