नेप्सेमा समस्या समाधान गर्न अर्थको निर्देशन

  भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : सेयर कारोबारको दोस्रो बजार नेप्सेमा पटकपटक समस्या आउन थालेपछि समस्याको दीर्घकालीन समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेप्से पदाधिकारीलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा सोमबार भएको छलफलमा सेयरको कारोबार व्यवस्थापन प्रणालीमा देखिने समस्या बारेमा जानकारी गराएको र तत्काल समाधानको उपाय अपनाउन निर्देशन भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष लक्ष्मण न्यौपानेले बताउनुभयो ।

नेप्सेमा यको लिमिटेडले सफ्टवेयर जडान गरेको छ तर उक्त सफ्टवयरको वारेन्टी अवधि अझै नसकिएकाले त्यसको स्वामित्व नेप्सेले लिइसकेको छैन । हाल देखिएका समस्या समाधानका लागि उक्त कम्पनीले प्रयास गरिरहेको न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले समस्या समाधान गर्न नसके हामी विकल्प पनि सोच्न सक्छौँ ।”

प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएपछि नेप्सेको अनुरोधमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गत बिहीबार कारोबारको राफसाफ र फस्र्योट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । आइतबार पनि त्यस्तै समस्या आएकाले उक्त दिनको कारोबारको मात्रा हेरेर केही दिनका लागि स्थगित गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।

लगानीकर्ताले नेप्सेले आफ्नो सिस्टममा सुधार गर्न नसकेका कारण लगानीकर्ताको लगानी जोखिममा परेको, नोट्स सञ्चालनमा आइसकेको दुई वर्षसम्म पनि त्यसमा आवश्यक सुधार नभएको गुनासो गरेका छन् । पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोख्रेलको गुनासो छ, “नेप्सेले ब्रोकर कम्पनीलाई दोषारोपण गर्छ तर आफ्नो पद्धतिमा सुधार गर्दैन । यसबाट लगानीकर्ताको दुःखले आर्जन गरेको लगानी जोखिममा परेको छ । ”

कारोबार भने बढ्यो
साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो अङ्कले सुधार भएको छ । सेयर बजार मापक नेप्से ३.२६ अङ्कले उकालो लागेर १५४०.५१ को बिन्दुमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ अङ्कले उकालो लागेर ३०६.२४ को बिन्दुमा पुगेको छ । कुल १९० कम्पनीका ८६ लाख ३१ हजार ७४१ सेयर किनबेचबाट तीन अर्ब १३ करोड ४१ लाख ३५ हजार ९०८ रुपियाँको कारोबार भएको गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया