कमलामाईलाई राष्ट्रिय वाणिज्यले ५ करोडसम्म सहुलियत कर्जा दिने

  भदौ २८, २०७७

काठमाडौं, भदौ २८ : सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्ने सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रमबीच कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

अब कमलामाई नगरवासीले उद्यम गर्न ५ लाखदेखि ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । सहुलियत ब्याजदर भने महिला उद्यमीका लागि वार्षिक १.८ र पु्रुषका लागि २.८ प्रतिशत रहेको जनाइएको छ ।

अर्थ मन्त्रालयबाट युवालाई नेपालभित्रै व्यवसाय गर्न प्रोत्साहित गरी नेपालको मौलिक पहिचान, कृषि, पशुपालन, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत र विज्ञान प्रविधि क्षेत्रमा गरिने उद्यमहरूमा परियोजना धितो राखी सरकारका तर्फबाट ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जा योजना जारी भएको र त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त सहकार्य गरिएको हो ।

नगरपालिका युवालाई सहुलियतपूर्ण कर्जा लिन सक्षम बनाउने, उद्यमशीलताका माध्यमले व्यक्तिलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने, उद्यमशीलता तथा स्वरोजगारका लागि नेपालमै सम्भावना छ भन्ने सकारात्मक सोच प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उद्देश्यले सहकार्य अगाडि बढाइएको सम्झौतापत्रमा उल्लेख छ ।

त्यसैगरी वैदेशिक रोजगारीबाट विभिन्न सीप, अनुभव र पुँजी संकलन गरी फर्किएका युवालाई फेरि बिदेसिनुपर्ने बाध्यताबाट रोकेर उनीहरूलाई उद्यमशीलतासँग जोड्ने, वित्तीय पहुँच एवं वित्तीय समावेशिता अभिवृद्धि गर्ने उद्देश्य पनि सम्झौतापत्रमा समेटिएको छ ।

नगरवासीलाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सम्भावना खोजी गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँग जोडिन पुगेको कमलामाई प्रमुख खत्रीले बताउनुभयो । उहाँले सम्झौताको सही कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै कर्जाको सदुपयोग गर्न सक्नेलाई मात्र सिफारिस गर्ने बताउँनुभयो ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमशीलताको विकासका लागि बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने लागेको बताउनुभयो । कतिपयले सहुलियत कर्जा भनेको तिर्नुनपर्ने हुन सक्छ भनेर बुझ्ने गरे पनि त्यो पूर्णतः गलत रहेको उहाँको भनाइ छ । निकै थोरै ब्याज तिर्नुपर्ने हुँदा व्यवसायीलाई ठूलो सहायता पुग्ने भएकाले सहुलियत भनिएको उहाँले बताउनुभयो । सहुलियत कर्जा लिएर त्यसको सही उपयोग गरी आफू आत्मनिर्भर हुन र बिस्तारै कर्जा फिर्ता गरेर ठूलो लाभ लिन सकिने श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया