सहुलियतको चिनी चाँडै आउँदै

  भदौ २७, २०७७

काठमाडौँ, भदौ २७ : साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउन लागेको सहुलियतको चिनी १५/२० दिनभित्र आइपुग्ने भएको छ । सरकारीबाट २० हजार टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले दोस्रो टेन्डरपछि चिनी खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।

कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले कोरोना महामारी वा अन्य कुनै विपत्ति आएर सबैतिर ठप्प हुँदाबाहेक अबको १५÷२० दिनभित्र चिनी नेपालमा आइपुग्ने बताउनुभयो । हाल कर्पोरेसनसँग पाँच÷छ सय टनको हारहारीमा चिनी मौज्दात रहेको जनाइएको छ । खुला बजारमा प्रतिकेजी ९०÷९५ रुपियाँमा कारोबार भएको चिनी कर्पोरेसनले भने ७३ रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ ।

कर्पोरेसनको चिनी मौज्दात सकिँदै गएको र नयाँ खरिद ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला सहुलियतको चिनी छिट्टै आउने सङ्केतले बजार भाउ घट्ने आश खुद्रा व्यापारीले गरेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउनेबित्तिकै बजारमा अहिले बिक्री भएको मूल्य थोरै भए पनि घट्ने जानकारी दिनुभयो ।

कर्पोरेसनले गएको फागुनमै ५० हजार टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत सरकारसँग अनुमति मागेकामा ढिलो गरी साउन १३ मा मात्र २० हजार टन चिनी खरिद गर्न स्वीकृति दिइएको थियो । सरकारले यसपटक साल्ट ट्रेडिङलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन गरी ३० हजार टन खरिदका लागि स्वीकृति दिएको हो ।

नुनमा नोक्सानी
कर्पोरेसनले आयोडिनयुक्त नुनमा प्रतिप्याकेट चार÷पाँच रुपियाँ नोक्सानमा कारोबार गरिरहेको जनाएको छ । छ÷सात वर्ष पहिले निर्धारण गरेको प्रतिप्याकेट मूल्य २० रुपियाँ अहिलेसम्म स्थिर रहँदा नोक्सान सहेर सेवा दिइरहेको कर्पोेरेसनका प्रवक्ता झाले बताउनुभयो ।

यस बीचमा पेट्रोलियम पदार्थ र ढुवानीमा ४० देखि ६० प्रतिशतसम्म मूल्य वृद्धि हुँदासमेत कर्पोरेसनले नोक्सान सहेर भए पनि त्यही मूल्यलाई निरन्तरता दिएको उहाँको भनाइ छ । प्रवक्ता झाका अनुसार लागत मूल्य प्याकेटमै चार-पाँच रुपियाँ नोक्सानमा प्रत्येक वर्ष दुई लााख पाँच हजार टन नुनको कारोबार गरिरहेको छ ।

कर्पोरेसनले अन्य अत्यावश्यकीय वस्तु दाल, चामल, गेडागुडी, खानेतेल, आटा, मैदाजस्ता खाद्यान्न, ग्यासलगायतको पनि आफ्ना बिक्री केन्द्रबाट बिक्री गर्दै आएको छ । पछिल्लोपटक सरकारले गरेको बन्दाबन्दी (लकडाउन) वा निषेधाज्ञामा समेत कर्पोरेसनले बिक्री केन्द्र र उपत्यकामा तीनवटा मोबाइल गाडीमार्फत नागरिकको घरदैलोमा सेवा दिइरहेको जनाएको छ ।

कर्पोरेसनका उपमहानिर्देशक कुमारराज राजभण्डारीले कोरोनाको जोखिमका बेला मात्रै होइन, देशमा परेका अन्य प्राकृतिक वा मानवीय विपत्तिका बेला अग्रस्थानमा रहेर सेवा दिँदै आएको दाबी गर्नुभयो ।

मल आउने प्रक्रियामा
कर्पोरेसनले चालू आवमा ७५ हजार टन रासायनिक मल खरिद गर्ने जिम्मा पाएकामा पहिलो चौमासिकमा ३० हजार टन युरिया, ४० हजार टन डीएपी र पाँच हजार टन एमओसी (पोटास) खरिदको जिम्मा पाएको छ ।

त्यसमध्ये ११ हजार टन आइसकेको र बाँकी लोडिङको प्रक्रियामा रहेको जनाइएको छ । त्यस्तै २० हजार टन डीएपीको खरिद प्रक्रिया सुरु भएकामा सात हजार छ सय टन भदौसम्म कोलकाता आइपुग्ने र बाँकी डीएपी तथा पाँच हजार टन पोटास आउँदो सोमबार टेन्डर गर्ने तयारी भइरहेको पनि कर्पोेरेसनले जनाएको छ ।

भदौ २७ गते कर्पोरेसनको ५८औँ वार्षिकोत्सव पर्ने भए पनि यसपटक कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नभएको जनाइएको छ । कर्पोरेसन २०२० साल भदौ २७ गते स्थापना भएको हो ।  

तपाईको प्रतिक्रिया