ट्रिनबागोलाई चौथो पटक क्यारेबियन लिगको उपाधि

  भदौ २६, २०७७

काठमाडौं, भदौ २६ : ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले हराउँदै ट्रिनबागोले चौथो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

जुक्सले प्रस्तुत गरेको १५५ रनको औसत लक्ष्य ट्रिनबागोले १८ ओभर एक बल खेल्दै मात्र दुई विकेटको क्षतिमा १५७ रन बनाएर पुरा गर्यो । लिगको उपाधि जित्दा ट्रिनबागोले आफ्नो अविजित यात्रा समेत जारी राख्यो । १९ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको ट्रिनबागोलाई ओपनर लेन्डी सिमोन्सले ८४ रनको अविजितर पारी खेलेर जितसम्म पुर्याउनुभयो ।

उहाँले मात्र ४९ बलको सामना गरेर आठ चौका र चार छक्काको सहयोगमा ८४ रन बटुल्नुभयो । डारेन ब्राभो अविजित रहँदै ५८ रनको योगदान दिनुभयो । जुक्सका लागि टम वेब्स्टरको विकेट रोष्टन चेजले लिनुभयो । स्कट कुग्लैजनले टिम सैफर्टको क्याच विकेटकीपरको हातमा थमाउँदा ट्रिनबागो १९ रन जोडेको थियो ।

यसअघि टरौबामा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको जुक्सले पाँच बल खेल्न बाँकी छँदै मात्र १५४ रनमा समेटिन पुग्यो । १७ औं ओभर समाप्त हुँदा मात्र सात विकेटको क्षतिमा १४८ रन जोडेको जुक्सले १७० रनको सम्मानजनक योगफल तयार गर्ने आँकलन गरिएपनि अन्तिममा निरन्तर विकेटको पतन भएपछि ऊ १५४ रनमा समेटिन पुग्यो । उसको पारीमा आन्द्रे फ्लेचरले सर्वाधिक ३९ तथा मार्क डेलले २९ र रोष्टन चेजले २२ र नजबुल्लाह जर्दनले २४ रनको पारी खेल्नुभयो ।

ट्रिनबागोका लागि कप्तान क्यारेन पोलार्डले सर्वाधिक चार विकेट लिनुभयो । फवाद अहमद र अलि खानले सामान दुई दुई तथा अकिल होस्सैनले एक विकेट लिनुभयो । प्लेयर अफ द् म्याच लेन्डी सिमोन्स घोषित हुनुभयो । प्लेयर अफ द् सेरिज क्यारन पोलार्ड हुनुभयो । नेपाली लेग स्पिनर सम्मिलित जमैका तलावाज भने सेमीफाइनलमा जुक्ससँग पराजित भई प्रतियोगिताबाट बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया