लकडाउबीच नवलपुरमा थपिए ११८ साना उद्योग, कृषि र पशुपालनमा धेरै

  भदौ २५, २०७७

कावासोती भदौ : कोभिड– १९ को माहामारीबीच नवलपरासी पूर्व (नवलपुरमा) ११८ वटा नयाँ साना उद्योग थपिएका छन् ।

कोभिड –१९ का कारण भएको बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा पनि नयाँ उद्योग थपिएका हुन् । चैतदेखि साउनसम्मको पाँच महिनाको अवधिमा जिल्लामा ११८ वटा साना उद्योग थप भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख बिक्रम सुवेदीले जानकारी दिनुभयो । बन्दाबन्दीसमयको बैशाख र जेठ महिनामा भने कुनै पनि उद्योग दर्ता भएनन् ।

कार्यालय प्रमुख सुवेदीलेका अनुसार बन्दाबन्दी सुरु भएको पहिलो महिना चैतमा १८ वटा , असारमा ३६ र साउनमा ६४ वटा साना उद्योग दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका धेरै जसो उद्योग कृषि तथा पशुपालनसंग सम्बन्धित छन् । बन्दाबन्दीकै पाँच महिनाको अवधिमा वाणिज्यतर्फ भने १ ३३ वटा व्यवसाय थप भएका छन् । बैशाख र जेठ महिनामा शुन्य छ भने , चैत र असार महिनामा १८÷१८ वटा र साउन महिनामा ३६ वटा व्यवसाय थप भएको छ ।
गत आर्थिक वर्षमा भने, जिल्लामा पाँच सय ४६ साना उद्योग थपिएका थिए । जिल्लामा गत आर्थिक वर्षमा मात्रै यो संख्यामा साना उद्योग थपिएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६÷०७७को १२ महिनामा पाँच सय ४६ वटा साना उद्योग थपिए । गत वर्ष सबैभन्दा धेरै भदौ महिनामा मात्रै ९० वटा घरेलु उद्योग थपिएका छन् । जिल्लामा थपिएका उद्योग मध्य धेरै जसो कृषि तथा पशुपालन संग सम्बन्धित छन् । त्यसपछि पर्यटन संग सम्बन्धित साना उद्योग दर्ता भएका छन् ।

वाणिज्य तर्फ भने यो अवधिमा चार सय ९९ वटा व्यवसाय थप भएका छन् । थपिएका उद्योगहरुमा सात सय ४६ उधमी सहित कुल दुई हजार ६३८ जनाकालागि रोजगारी सिर्जना भएको कार्यालय प्रमुखले सुवेदीले बताउनुभयो ।

कृषि र पशुपालनमा बढ्दो आकर्षण

बन्दाबन्दीका बेला समेत जिल्लामा नयाँ उद्योगहरु थप हुनुले मानिषको साना उद्योगतर्फ आकर्षण बढेको बुझ्न सकिने कार्यालय प्रमुख सुवेदी बताउनुहुन्छ । कोभिड –१९ ले बैदेशिक रोजगारीमा गएका युवा समेत फर्केर कृषि र साना उद्योग संचालनमा लागेको सुवेदीले बताउनुभयो ।
बन्दाबन्दीमा थपिएका अधिकाशं उद्योग कृषिजन्य उद्योग रहेकाले मानिषले अन्य व्यवसाय भन्दा अब कृषिमा नै आफ्नो भविश्य देखेको सुवेदीको बुझाई छ । कृषिमा पनि पशुपालन र तरकारी खेतीतर्फ किसानहरुको आकर्षण बढेको पाईएको सुवेदीलेबताउनुभयो । कोभिड–१९ का कारण सृजित परिस्थितीले मानिषलाई आफ्नै देशमा आत्मनिर्भरह हुनुपर्छ भन्ने चेतना दिएको सुवेदीले बताउनुभयो । अर्कोतर्फ नवलपुरमा कृषि तथा पशुपालनको सम्भाव्यता धेरै रहेको र सरकारले कृषि तथा पशुपालन तर्फ बिभिन्न खाले अनुदानको व्यवस्था गरेकाले पनि यस व्यवसाय तर्फ आकषर्ण बढेको हुनसक्ने प्रमुख सुवेदीले बताउनुभयो ।

‘सरकारले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखि बिभिन्न खालका सहयोग तथा अनुदान उपलब्ध गराउदै आएको छ’ सुवेदीले भन्नुभयो – ‘ त्यसैले यस संग सम्बन्धीत उद्योग धेरै दर्ता भएको हुन सक्छ ।’
रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले पनि कोभिड– १९ का कारण उत्पन्न परिस्थितीले युवामा कृषितर्फ आकर्षण बढेको बताउनुहुन्छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको संगठन रिटर्नी माइग्रेन्ट नेपालले अहिले जिल्लामा सहुलियत कर्जा उलबध गराउने काममा सहजीकरण गर्दै आएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका युवालाई सरकारले उपलब्ध गराउने सहुलियत कर्जा बन्दाबन्दीकै अवधिमा जिल्लाका २० जनाले पाएका छन् । सहुलियत कर्जा लिने अधिकाशं युवाहरुले साना उद्योगमै लगानी गरेको रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका सचिव दिपेन्दराज थनेतले बताउनुभयो । जसमध्ये अधिकाशंले पशुपालन , तरकारी र कागती खेती सुरुवात गरेको थनेतले जानकारी दिनुभयो ।

कोरोना माहामारीले अन्य उद्योग व्यवसाय धरासायी बनिरहेका बेला कृषिजन्य उद्योग व्यवसायले निरन्तरता पाएको देख्दा कृषिमै भविश्य देखि भैँसी पालनमा लगानी गरेको देवचुलीका राजु बिकले बताउनुभयो । १० वर्षसम्म बैदेशिक रोजगारीमा समय खर्चिनु भएका बिकले सहुलियत कर्जा प्राप्त गरि भैँसी फर्म संंचालन गरेको बताउनुभयो । ‘दश वर्षसम्म अर्काको भुमिमा धेरै दुःख कस्ट सहेर काम गरे तर , अब आफ्नै देशमा कृषि पेशा गर्ने सोँच बनाएर काम सुरु गरेको छु । ’ बिकले भन्नुभयो ।

तपाईको प्रतिक्रिया