काठमाडौं, भदौ १९ : नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिगको सेमीफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन बारबाडोस ट्रिडेन्ट्सले गायना अमेजन वरियर्स विरुद्धको खेलमा हार बेहोरेपछि जमैकाले सेमीफाइलनको समीकरण तय गरेको हो ।
जमैकाले लिग चरणको दुई खेल खेल्न बाँकी छँदै सेमीफाइनलमा पुगेको हो । पुछारमा रहेको बारबाडोस र सेन्ट किट्स एण्ड नेविसले अब एक एक खेल मात्रै खेल्न बाँकी छ । बारबाडोसले नौ खेलबाट मात्र चार अङ्क बटुलेको छ । सेन्ट किट्सले नौ खेलबाट तीन अङ्क बटुलेको हो ।
चौथो स्थानमा रहेको जमैकाले आठ खेलमध्ये मात्र तीनमा जित हात पारेपनि ऊ सात अङ्कसहित चौथो स्थानमा छ । जमैकाका सेन्ट किट्स एण्ड नेविस पेट्रिओट्स विरुद्धको पछिल्लो खेल वर्षाले अवरुद्ध भएपछि अङ्क बाँडिएको छ ।
त्यसैगरी सेमीफाइनल पुग्ने अन्य टोलिहरुमा ट्रिनबागो नाइट राइडर्स, गायना अमेजन वरियर्स र सेन्ट जौक्स रहेका छन् । ट्रिनबागो प्रतियोगिताको सबैभन्दा सशक्त टोलि हो । उसले आठमध्ये आठै खेल जितेर सेमीफाइनलको यात्रा सुनिश्चित गरेको छ । गायनाले दशमध्ये छ मा जित हात पारेर १२ अङ्कसहित दोस्रो स्थानमा र जौक्सले आठ खेलमध्ये पाँचमा जित हात पारेर दश अङ्कसहित तेस्रो स्थानमा छ । ट्रिनबागो, जौक्स र जमैका तीनवटै टोलिले लिग चरणमा अझै दुई दुई खेल खेल्न बाँकी छ ।