तामा खानी उत्खननमा ध्यानै गएन

  भदौ २०, २०७७

रामेछाप, भदौ २० : कुनै बेला रामेछाप जिल्लाका गाउँगाउँमा तामाखानी सञ्चालनमा थिए, अहिले तिनका अवशेष मात्र छन् । स्थानीय उपकरण र प्रविधिको प्रयोग गरी ती खानीबाट तामाको धाउ निकाली गाउँमै तामाका भाँडावर्तन बनाउने गरिन्थ्यो । अहिले ती सबै तामा खानी बन्द छन् ।

जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको खिम्ती, सैपु, बिजुलीकोट, खाँडादेवीको पकरबास, धारापानी, खानीडाँडा, माकादुम, गागल, गोकुल गङ्गाको नामाडी, उमाकुण्डको प्रीति, भुजी, दोरम्बा र सुनापति गाउँपालिकाका विभिन्न ठाउँ तथा रामेछाप नगरपालिकाको हिमगङ्गालगायत ठाउँमा तामा खानी सञ्चालनमा थिए ।

विगतमा पुर्खासँग न साधन थियो न प्रविधि । त्यस्तो अवस्थामा पनि तामा खानी सञ्चालनमा थिए । अहिले साधन, स्रोत, प्रविधि सबै छ । किन सञ्चालन गर्न सकिँदैन तामा खानी ?’, पूर्वसांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य देवशङ्कर पौडेल प्रश्न गर्नुहुन्छ ।

भूगोलका ज्ञातासमेत रहनुभएका पौडेलले विगतमा थुप्रै तामा खानी सञ्चालन भएका र ती खानीबाट निकालिएको तामाका भाँडा अहिले पनि घरघरमा भएको बताउनुभयो । विगतमा सञ्चालनमा आएर बन्द भएका यस्ता खानी मात्रै सञ्चालन गर्ने हो भने नेपालको आर्थिक क्षेत्र कायापलट हुने उहाँको दाबी छ ।

खानीमा सुरुङ बनाई भित्र छिरेर तामाको धाउ निकाल्ने गरिएको स्थानीय बूढापाका बताउँछन् । बूढापाकाका अनुसार छिनोले खोपेर सुरुङ बनाई तामाको धाउ भएको भागसम्म जाने सुरुङ मार्ग बनाइन्थे । त्यसरी तामा निकालेका सुरुङ अहिले पनि ठाउँठाउँमा देख्न सकिन्छ ।

जिल्लाको खिम्तीको शिवालायमा सञ्चालन भएको तामा खानीबाट उत्पादन भएको तामाले बनेका भाँडा अहिले पनि खिम्तीका धेरै घरमा चलनचल्तीमा छन् । विज्ञान र प्रविधिको विकास नहुँदा सञ्चालनमा रहेका ती खानी प्रविधिको विकास भएपछि भने बन्द छन् ।

ती सुरुङमा अझै पनि भित्रसम्म सजिलै छिर्न सकिने खाँडादेवी गाउँपालिका–६, माकादुमका वडाध्यक्ष पुष्कर कार्की बताउनुहुन्छ । अहिले ती सुरुङ केटाकेटीलाई खेल्ने ठाउँ बनेका छन् ।
गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष कार्कीले विगतमा सञ्चालनमा रहेका तामा खानी पुनः सञ्चालनका लागि स्थानीय सरकारले विभिन्न अध्ययन गरिरहेको बताउनुभयो ।

बन्द तामा खानी सञ्चालनमा ल्याउनसके रोजगारी गुमाएकालाई रोजगारी दिन र देशको अर्थतन्त्र विकासका ठूलो योगदान पुग्ने देखिन्छ तर विगतमा सञ्चालनमा रही हाल बन्द भएका तामा खानी सञ्चालनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

तपाईको प्रतिक्रिया