भदौभर आर्थिक सहायता बन्द

  भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउँदै आएको आर्थिक सहायताबापतको रकम भदौभरका लागि बन्द गरेको छ ।

सहायताबापतको रकम लिन धेरैजसो काठमाडौँ नै आउनुपर्नेमा पछिल्लो समय कोरोना महामारीको जोखिम बढेकाले उपत्यकामा निषेधाज्ञा जारी रहेको हुँदा बोर्डले सूचनामार्फत भदौ मसान्तसम्मका लागि सहायता रकम दिन बन्द गरेको जनाएको हो ।

हुन त बोर्डले आर्थिक सहायताबापतको रकम स्थानीय पालिकामार्फत निवेदन दिएर पनि लिनसक्न व्यवस्था गरेको एक वर्ष भइसक्यो तर अधिकांश सेवाग्राही उक्त रकम लिन काठमाडौँ नै धाउने गरेका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग वा बिरामी भएका श्रमिक र उनीहरूको परिवारलाई आर्थिक सहायता बोर्डबाट प्रदान हुँदै आएको छ ।

आर्थिक सहायता दिने काम अहिलेलाई बन्द गरिए पनि आफ्नो पालिकामार्फत आर्थिक सहायताका लागि निवेदन दिन भने सकिन्छ । आवश्यक कागजातसहित सम्बन्धित व्यक्तिले पालिकामार्फत निवेदन दिन र त्यो निवेदन बोर्डमा पठाउन पालिकाहरूलाई बोर्डले अनुरोध गरेको छ ।

अहिले पनि विदेशमा समस्यामा परेका नेपाली लिन गएका चार्टर्ड जहाजमार्फत नेपालीको शव पनि आइरहेको छ । मङ्गलबारदेखि त केही देशबाट नियमित अन्तर्राष्ट्रिय उडान पनि खुलेको छ । यो समयमा विमानस्थलबाट बोर्डले घरसम्म निःशुल्क शव ल्याउन सहयोग गर्ने कार्य भने भइरहेको जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका नेपालीको शव घरसम्म पुर्याउन एक महिनामा १८ लाख रुपियाँभन्दा बढी खर्च भएको बोर्डले जनाएको छ । यस्तै गत साउनमा मात्रै बोर्डले ९४ जना मृतकका हकवालालाई छ करोड २४ लाख १० हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डका अनुसार साउनमा १३ जनाले ६७ लाख ५५ हजार रुपियाँ आर्थिक सहायता रकम लिएका छन् ।  

तपाईको प्रतिक्रिया