प्रदीप नेपाल
नेपालको एकीकरणको विजयी अभियानलाई ब्रिटिस–इन्डियाले रोकिदियो । जितेर होइन है फेरि । जालसाजी गरेर । पूर्वमा हाम्रा बहादुर सैनिकले टिस्टामा आफ्नो खाँडो पखालेका थिए । अमरसिंह थापाको विजय यात्रा रोकिएको थिएन तर दरबारबाट गएको खबरीले भन्यो– युद्ध स्थगन गर्नु, नेपाल र ब्रिटिस इन्डियाका अधिकारीबीच सुगौली गाउँमा सन्धि वार्ता हुँदैछ, त्यसैकारण जो जो जहाँ पुगेका छौ, आजका मितिदेखि सोही ठाउँमा रोकिनू ।
अर्थात् नेपालको राजदरबारले ‘जहाँ पुग्या छौ ताहीं अडिनु, सन्धि वार्ता हुँदैछ’ भनेर आदेश जारी गरेपछि नेपाली सेनाको वियजी अभियान रोकियो । सेनापति र लडाइँमा खटिएका सरदारलाई थाहा पत्तै नदिई गरिएको सन्धिप्रति प्रधानसेनापति अमरसिंह थापाको सबैभन्दा ठूलो असहमति रह्यो । त्यसैले काँंगडाबाट फर्किएर नेपालको दरबारमा आफ्नो ओहोदाबाट राजीनामा गरी उनी गोसाइँकुण्डतिर लागेका थिए भन्ने इतिहास सबैले पढेकै हो । वार्ताप्रति युद्ध मैदानमा खटिएका सेनापति अमरसिंह थापाको रायसमेत नलिई गरिएको यो नेपाल दरबारको सर्वसम्मत निर्णय पनि थिएन होला । राजा कमजोर भएको, गुटमा बाँडिएका सामन्तहरू एकआपसमा मारामार लडाइँ चलिरहेको बेलामा बलियो गुटले गजराज मिश्र र चन्द्रकान्त उपाध्यायलाई बातचितबाट कुरो टुङ्ग्याउनु र दरबारमा जाहेर गर्नु भन्ने अधिकारसहित सुगौली पठायो । सुगौली गाउँमा बसेर सन्धिपत्र गरिएको हुनाले नेपाल र ब्रिटिसबीच भएको सन्धिको नाम ‘सुगौली सन्धि’ भनिएको हो । फगत एउटा जाली कागजका कारण, युद्धमा जितेर पनि सन्धिपत्रमा हामीले हा-यौँ ।
बेलायती राजमा कहिल्यै सूर्य अस्ताउँदैन भन्ने साम्राज्य खडा गरेको बेलायतका छट्टु वकिल एकातिर, अनि विवेकले काम गर्ने सामन्तहरू अर्कातिर बीच भएको वार्तामा नेपाल हार्नु स्वाभाविक थियो । बेलायतीहरू तरबारले नसके कलमले पेल्ने कूटनीति अपनाएर गोर्खा विजयको अभियानलाई बीचैमा रोेकिदिन सफल भए । लडाइँ लडेर जितिएको त्यही भूभाग अहिलेको ‘ग्रेटर नेपाल’ हो । त्यसैले न्यायको हिसाबले बोल्ने हो भने ग्रेटर नेपालको माग सही छ ।
बेलायतीहरूले घर फर्किएर जाँदा सम्भ्रान्त भारतीयलाई एउटा सम्बोधन पनि उपहार दिएका थिए ‘बाबुसाहेब’ को । ती बाबुसाहेबहरू मनले चाहेको समयमा, एउटा परिचयपत्र बोकेर बेलायत जान पाउँथे । त्यसैले भारतीय बाबुसाहेबहरूमा बेलायती उपकारका कारण बेलायती अहम्को परिचयपत्र रहिरह्यो । जो त्यसरी जान पाउँदैनथे, त्यस्ता किसान र श्रमिक शुद्ध भारतीय नै रहे । त्यसैले अहिले बाबुसाहेबहरूको नेपाल हेर्ने सोच बेलायतीहरूकै जस्तो छ । भारतीय बाबुसाहेबहरूले बुझेको कुरो पनि त्यही सुगौली सन्धिसँगै अघि बढिरहेछ । गोर्खा बहादुरसँग भिड्नुभन्दा सिमाना चिमोट्ने काममा त्यही बाबुसाहेबको बुद्धिले काम गरेको छ ।
म लडाइँमा कहिल्यै विश्वास नगर्ने मान्छे हुँ । हत्या जीवनको समाप्ति हो । अन्तिम निष्कर्षमा त्यसले नकारात्मक निष्कर्ष अर्थात् पीडा नै दिन्छ । पीडाको पछिल्लो उदाहरण स्वयं हामी नै छौँ । दश वर्षको छोटो अवधिमा सत्र हजार नेपाली मारिए । किन ? गणतन्त्र बनाउन ? कस्तो गणतन्त्र ? दलाल नोकरशाही पुँजीवादको राज कायम भएको गणतन्त्र ? बुझ्नुस्, गणतन्त्र आफैँमा कुनै सकारात्मक व्यवस्था होइन । राजा नहुँदैमा जनता महान् हुन्छन् भन्ने भ्रममा पनि नपर्नुस् तपाईं । युरोपको सबैभन्दा उत्तरी मुलुक नर्वेमा पनि राजतन्त्र छ, डेनमार्कमा राजतन्त्र छ । नर्वेमा पुलिसको रजाइँ हुँदैन । धनीहरूले आफूलाई चाहिनेभन्दा बढी खानेकुरा किन्छन् । त्यो बढी खानेकुरा उनीहरूले कुनै गरिब मान्छे आयो भने दिन भनेर पसलेकै जिम्मामा छोडेको हुन्छ । इमान भएको देश हो नर्वे । त्यसैले त्यो दानमा राखिएको खाना वास्तविक गरिबले मात्रै खान पाउँछ ।
नेपालमा राजा ल्याउने हल्ला जो गरिरहेछन् तिनले नर्वे र डेनमार्कमा कस्तो राजतन्त्र छ भनेर थाहा पाएकै छैनन् । थाहा पाएका भए तिनीहरू एक दिन पनि राजतन्त्रको नारा लगाउने थिएनन् । उनीहरू त राजाको नाममा कसरी ठग्न पाइन्छ भन्ने बहिखाता बोकेर हल्ला गरिरहेछन् ।
रह्यो इतिहासको कुरो । हामीले पढेर आएको इतिहास युरोपमा, युरोपेली औपनिवेशिक चेतनामा बाँचिरहेकाहरूले लेखेका हुन् । त्यसैले तिनले नेपालको इतिहासमा खड्गले पहरो काटेर चोभारबाट पानी निकाल्ने, कर्कोटक नागलाई टौदहमा गएर भन्नेजस्ता हास्यास्पद कुरा लेखेका छन्, लेखाएका छन् । हामी नेपाली छौँ जब्बरका । बोलेपछि बोल्यो बोल्यो ।
आज आएर हामीले नेपालको त होइन, सबैभन्दा पहिले यही काठमाडौँ उपत्यकाकै इतिहास सुधार्नु जरुरी भएको छ । पोखरीको पानी एक वर्षमा बाहिरिएको होइन । हजारौँ वर्ष लाग्यो होला त्यो चोभारको गल्छी काट्न बागमतीको पानीलाई । चोभारको दक्षिणी पाखो पहरो जस्तो छ भने उत्तरी पाखोमा ठूला ठूला ओढार छन् । यसको अर्थ मानिसको अवस्था गुफावासीको थियो त्यतिबेला ।
ने मुनिले बस्ती बसाएको र धर्माकरलाई राजा बनाएको इतिहास पनि सही होइन । पाखाहरूबाट पानी सुक्दै गएपछि बनैयाहरूले बस्ती बसाउने, पशुपालन गर्ने काम गर्न थाले । उपत्यकाका सबैभन्दा पुराना बस्तीहरू भनेका साँखु, बूढानीलकण्ठ र थानकोट हुन् । ह्वाङ्हो किनारबाट आएका किराँतहरूले नेपालमा सबैभन्दा लामो समयसम्म राज गरे । उनीहरू बलिया थिए । त्यसैले रैथाने नाग जाति लडाइँभन्दा मेलमिलापबाट आफू सुरक्षित हुने निष्कर्षमा पुगे । त्यस्तै उतिबेला थानकोटमा गोपाल (पशुपालन गर्ने) हरूको बसोवास थियो । उनीहरू मेलमिलापतिरै लागे । किराँत राजाले पनि ती दुवै जातिलाई आफ्नो मित्र बनाउने कामले भविष्यमा राम्रै हुन्छ भन्ठानेर चोभार र चन्द्रागिरितिर बसोवास गर्ने व्यवस्था मिलाइदिए । त्यसैले आज पनि हामी शिवजीलाई, सर्पको माला र नन्दीसँग आनन्दले बसेको फोटो देखिरहेका छौँ । मिथकबाट सत्य निकाल्ने कष्ट त्यो बेलाका विदेशी लेखकले किन गर्थे ! किराँती र नागहरूको मित्रता कतिसम्म बलियो थियो भने लिच्छविको आक्रमणबाट भागेर पूर्वतिर लाग्दा दुवै जाति सँगसँगै बाटो लागे । नेपालभूमिमा रोकिँदै जाँदै गर्दा उनीहरूले आफ्नो अवशेष ठाउँ ठाउँमा छाड्दै गए । नेपालबाट हराएको नाग जाति यतिबेला नागाल्यान्ड राज्यमा बसेको छ ।
आजको वैज्ञानिक युगमा समेत नेपालको इतिहासलाई समयानुकूल गर्न सकिएको छैन । आफ्नो इतिहाससमेत नजान्ने विद्वान्हरूले कसरी राष्ट्रलाई अघि बढ्ने गति दिन सक्छन् ?
पछिल्लो समयमा रामायण कथाको इतिहास सुधार्ने कोशिस भइरहेको छ । भारतको अयोध्या रामको जन्मभूमि होइन भन्ने टुङ्गो भारतीय विद्वान्हरूले नै गरिसकेका छन् । अब राम जन्मभूमिको नेपालको अयोध्यापुरी हो भन्ने छलफल सुरु भएको छ । छलफल चल्नु राम्रो कुरा हो । वाल्मीकि रामायण छ हजार श्लोकको थियो रे । अहिले हामीले पढ्ने रामायणमा २४ हजार श्लोक छन् । वाल्मीकि रामायणको परिवेश नेपालको चुुरेक्षेत्रको आसपास थियो । अर्थात् वाल्मीकि आश्रम, अयोध्यापुरी, जनकपुर, महर्षि विश्वामित्रको तपोवन कोशी किनार । चितवनको माडीमा राम जन्मभूमिका प्रमाण भेटिए थप छलफल गरौँला । भेटिएन भने चुपै बसौँला । नेपालीहरूमा राम त रगत नै भइसकेको छ । त्यो अन्धविश्वासबाट नेपालीलाई बाहिर निकाल्न धेरै गाह्रो छ तर जति गाह्रो भए पनि सत्य स्थापित हुनैपर्छ । अहिलेसम्म प्रमाणित भएको सत्य के हो भने अयोध्या रामको जन्मभूमि होइन । त्यसैले सीतामाताको विवाह भारतको अयोध्यामा होइन । नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री भएपछि ‘रामायण ट्रेल’ बनाउने हल्ला चलेको थियो ।
भारतीय विद्वान्हरूले नै अहिले अयोध्या भनिएको भूमि बुद्ध धम्मको साकेत हो भनेर पुरातात्विक प्रमाणसहित दाबी गरेपछि पनि रामायण ट्रेलको कुरा गर्नु आफ्नो अज्ञानताको सार्वजनिकीकरण गर्नु हुन्छ ।
(नेकपाका नेता नेपालले लेख्नुभएको यो लेख गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।)