काठमाडौँ, भदौ १७ : मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको छ ।
दुवै सेता दानाका रूपमा छन् तर तिनमा कालोधन्दा पनि हुने गर्दछ । धान रोप्ने बेलामा आवश्यक रासायनिक मल समयमा आपूर्ति नहुँदा देशले पैँचो माग्नुपर्ने अवस्था सिर्जना भएको छ र त्यसका लागि प्रधानमन्त्री स्तरबाट नै पहल गर्नुपरेको छ । नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने सोच नै राज्यले बनाएको छैन ।
तर नेपालमा कारखाना रहेका चिनी मिल र तिनबाट सिर्जित समस्याबाट किसान अर्को मारमा पर्ने गरेका छन् । त्यसको असर समग्र उपभोक्तामा पनि पर्दछ र चाडबाडका बेला चिनी धेरैको अनियमित कमाइको माध्यम पनि बन्ने गरेको छ । यी समस्या बर्सेनि दोहोरिने गर्दछन् । यस वर्ष पनि मलको समस्या चरम छ, चिनीको चर्कने देखिँदै छ ।
चाडबाडमा चिनीको समस्या
काठमाडौँ, हिजो इन्द्रजात्रा सकियो र आज सोह्र श्राद्ध सुरु भयो अर्थात् अधिकांश नेपाली क्रमशः चाडबाडमा प्रवेश गर्दैछन् । यस्तैमा चिनीको मूल्य मनपरी हुन थालेको छ । चिनीको अभाव देखाउँदै व्यापारीले महँगोमा बेच्न थालेका छन् । यो चाडबाड आउन लाग्दाको नियमित प्रक्रियाजस्तै हो ।
एक महिनाअघि सम्म प्रतिकेजी ८० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको चिनी अहिले बढेर ९०–९५ रुपियाँ पुगेको छ । चिनी उद्योगीले कृत्रिम अभाव गराएर मूल्य वृद्धि गराएको आरोप सरोकारवालाले लगाइरहेका छन् । स्वदेशी चिनी उद्योग र साल्ट्र टे«डिङ कर्पाेरेसनले चिनीको मौज्दात सकिएको बताएपछि बजारमा एक्कासि मूल्य बढेको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लोपटक चिनीको भाउ थोकमै बढेकाले खुद्रा बजारमा खुद्रामा प्रतिकेजी ८५-९० रुपियाँसम्म पुगेको छ । केही साना खुद्रा पसलले ९५ रुपियाँमा पनि बिक्री गरेको पाइन्छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना बजारमा पर्याप्त चिनी हुँदाहुँदै पनि चिनी उद्योगी र व्यापारीले कृत्रिम अभाव गराएर चिनीको भाउ बढाइएको आरोप लगाउनुहुन्छ । उहाँले उद्योगी, व्यापारीसँग पर्याप्त चिनी रहेको बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चिनी खरिदमा समय लाग्ने भएपछि व्यापारीले चिनीको चलखेल गरिरहेको उहाँको आरोप छ ।
अझ नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले त सरकार र चिनी उद्योगीकै मिलेमतोमा डेढ महिनादेखि चिनीको मूल्य बढाइएको आरोप लगाउनुभयो । चाडपर्वका बेलामा जहिले पनि चिनीको अभाव गराउने ठूला व्यापारीलाई कहिल्यै कारबाही नभएको भन्दै त्यसको दोष साना तथा खुद्रा व्यापारीमाथि देखाएर कारबाही हुने गरेको गुनासो गर्नुभयो ।
बजारमा साँच्चै चिनीको अभाव हो कि होइन भन्ने सरकारको नियमन गर्ने निकायले हेर्नुपर्ने भन्दै त्यो नभएको आरोप उहाँले लगाउनुभयो । अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले चिनीको मूल्य बढेकाले चिनीका थोक व्यवसायीको विभिन्न माध्यमबाट अध्ययन अवलोकन गर्ने काम भइरहेको र लुकाएको पाइएमा तुरुन्तै कारबाही गरिने जानकारी दिनुभयो तर विभागबाट ठोस कारबाही हुने गरेको तथ्य पाइँदैन ।
यता चिनी उद्योगीले भने उद्योगसँग रहेको मौज्दात चिनी साउनमै सकिएकाले बजारमा केही अभाव भएको बताउँदै आएका छन् । चिनी व्यवसायीका अनुसार चिनी आयातमा प्रतिबन्ध लगाएपछि स्थानीय उत्पादनले माग धान्न नसकेर मूल्य बढ्न गएको छ ।
आयात अनुमति ढिलो
बजारमा चिनीको मूल्य नियन्त्रण गर्न सरकारले साल्ट टे«डिङ कर्पाेरेसनलाई २० हजार र खाद्य तथा व्यापार कम्पनीलाई १० हजार क्विन्टल चिनी आयात गर्नका लागि अनुमति दिएको छ । ती निकायको चिनी खरिदमा ढिला भएमा चिनीको भाउ अझै बढ्नसक्ने खुद्रा व्यापारी बताउँछन् ।
मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग हुन्छ र आन्तरिक उत्पादनबाट करिब ५० हजार टन अपुग हुन्छ । गत वर्ष एक लाख ८० हजार टन चिनी उत्पादन भएको थियो । खुला सीमाका कारणले भारतीय बजारबाट उपभोक्ताले ल्याउने र तस्करीबाट पनि चिनीको केही माग आपूर्ति हुन्छ ।
साल्ट्र टे«डिङ कर्पाेरेसनका अनुसार कर्पोरेसनसँग अब तीन हजार मेट्रिक टन मात्रै चिनी मौज्दात छ । कर्पोरेसनले गत माघ-फागुनमै ५० हजार टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत सरकारसँग अनुमति मागेको थियो तर सरकारले भने कर्पोरेसनलाई गत साउनमा मात्र २० हजार मेट्रिक टन चिनी खरिद गर्न स्वीकृत दियो । सरकारले यसपटक कर्पोरेसनलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन गरी ३० हजार टन खरिदको अनुमति दिएको छ ।
आउन अझै ढिला हुने
कर्पोरेसनले चिनी खरिद प्रक्रिया सुरु भए पनि चिनी आउन समय लाग्ने जनाएको छ । कर्पोरेसनका उपमहानिर्देशक कुमारराज राजभण्डारीले छिटो आए अबको एक महिनाभित्र नेपालमा चिनी आइपुग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ तोकिएको समयमा नआउन पनि सक्छ । हामी दशैँसम्म चिनी आइपुग्छ भन्ने आशमा छौँ ।”
यता खाद्य कम्पनीले आफ्नो कोटाको चिनी प्रक्रिया भर्खर सुरु गरेको र छिटोमा तिहारसम्म चिनी आउने अपेक्षा गरेको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले खाद्य कम्पनी सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रियामा जानुपर्ने भएकाले चिनी खरिदमा समय लाग्नसक्ने जानकारी दिनुभयो ।
दस किलो मल लिन दस घण्टा लाइन
शालिग्राम नेपाल
चितवन, भदौ १८ गते । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको चितवनमा एकाबिहानै ठूलो समूह लामबद्ध भएर बस्यो । तिनीहरू कोरोनाको परीक्षण गराउन वा अन्य माग राखी आन्दोलन गर्न आएका थिएनन् । ढिला गरी त्यो पनि थोरै परिणाममा युरिया मल आएपछि कोरोना सङ्क्रमणको जोखिम मोलेर चितवनका सहकारीमा किसानको लाइन लाग्ने गरेको छ ।
जिल्लाका सहकारीमार्फत युरिया मल वितरण गर्ने भएपछि बुधबार वितरण स्थलमा मेला लागेझैँ किसानको भीड लागेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले सङ्क्रमण फैलिन नदिनका लागि भीड नगर्न, सामूहिक रूपमा भेला नहुन निषेधाज्ञा लगाए पनि मलको अभाव भएपछि किसानले जोखिम मोलेर मल खरिद गर्न आएका हुन् । भरतपुर महानगरपालिका–६ को सर्वोदय बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ११५ बोरा युरिया मल आएको छ भन्ने थाहा पाएपछि बिहान ३ः०० बजेदेखि नै किसान लाइनमा बसेका थिए ।
मल खरिद गर्न भीड धेरै भएपछि सहकारीले प्रतिकिसान १० केजी मल वितरण गरेको सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले बताउनुभयो । दुईपटक गरेर मुस्किलले ११५ बोरा मल ल्याएका छौँ । यसले के पुग्छ र ?, उहाँले भन्नुभयो “दुई हजार पाँच सय किसान लाइनमा थिए । त्यसैले प्रतिपरिवार १० किलो दिएका छौँ ।” सोमबार ६० बोरा आएको थियो । मङ्गलबार ५५ बोरा ल्याए वितरण गर्न समस्या हुने भएपछि प्रशासनलाई जानकारी गराएर वितरण गरेको कोइरालाले बताउनुभयो ।
जिल्लाका एक सय सहकारी कार्यालयमा मल लिनका लागि किसानको यस्तै भीड लागेको देखिन्छ तर किसानले मागअनुसार मल पाएका छैनन् । धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया मल किन्न यहाँका किसानले यस्तै हैरानी खेप्नुपरेको थियो । धानमा हुने झार गोडिसकेपछि उत्पादन बढाउन युरिया मल हाल्नैपर्ने किसानको भनाइ छ । रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।