मुस्ताङमा उत्पादित मार्फा स्याउ बजारमा आउँदै

  भदौ १७, २०७७

बेनी, भदौ १७ : हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित मार्फाको स्याउ बजार लैजाने तयारी सुरु गरिएको छ । स्याउ पाकिसकेको भएपनि ढुवानीका साधन नचल्दा समस्या आइरहेको छ । त्यसैगरी स्याउ टिप्नेदेखि लिएर अन्य व्यवस्थापनको कार्यमा बाह्य जनशक्ति नभएकाले यसपटक स्थानीय नै खट्नुपर्ने भएको छ ।

कोभिड–१९ सङ्कट व्वस्थापन केन्द्रले स्याउ टिप्नका लागि कामदार जिल्ला बाहिरबाट ल्याउन नपाइने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताउनुभयो । गत वर्षको तुलनामा केही कम फलेपनि यसवर्ष पाँच हजार मेट्रिक टन स्याउ बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मुस्ताङका प्राविधिक यमुना लामाले बताउनुभयो ।

लामाले भन्नुभयो, गतवर्ष ५ हजार ५२८ मेट्रिक टन स्याउ निर्याय भएको थियो, अहिले उत्पादन केही कम भएपनि राम्रोसँग पाक्न पाएकोले राम्रो मूल्य पाइने आशा गरिएको छ । गतवर्ष बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक हजार ३७०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १००, लोमन्थाङ गाउँपालिकामा तीन सय, थासाङ गाउँपालिकामा एक हजार ३६० र घरपझोङ गाउँपालिकामा २ हजार ६९४ मेट्रिक टन उत्पादन भएको थियो ।

मार्फाका कृषक दिपक लालचनले यसवर्ष सडक नहुँदा स्याउ छिटो बेच्न नपाएपनि गुणस्तरीय स्याउ अहिले बजार जाने कुराले भने खुशी बनाएको बताउनुभयो । विगतमा भन्दा बढी हिऊँ पर्नुका साथै साउनसम्म खपनि राम्रोसँग आकाश नखुलेको हुनाले स्याउका उत्पादन कम भएको कृषक लालचनको भनाइ छ ।

तपाईको प्रतिक्रिया